सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा बढ्दै डेङ्गु सङ्क्रमण

पछिल्लो समय डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या बढदै गएको छ । अहिलेसम्म जिल्लाका विभिन्न पालिकामा गरी ११ जनामा डेङ्गु सङ्क्रमण फैलिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार ११ मध्ये आठ जना जिल्लाभित्रका छन् । बुधबारमात्रै डेङ्गुबाट नेपालगन्जमा दुई जनाको मृत्यु भएको छ ।

सङ्क्रमितमध्ये सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकाका पाँच, कोहलपुर नगरपालिकाका दुई र बैजनाथ गाउँपालिकाका एक जना छन् । अन्य तीन जना बुटवल र काठमाडौँ आवतजावत गर्दा सङ्क्रमित भएका पाइएको छ ।

यस्तै भेरी अस्पताल नेपालगन्जमा पनि डेङ्गु र भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ । अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले डेङ्गु र भाइरल ज्वरोका बिरामी बढ्दै गएको उल्लेख गर्दै दमका रोगीसमेत बढेको बताए ।

‘अस्पताल भरिभराउ छ, बिरामी धेरै छन्,’ उनले भने । डा रिसालले लामखुट्टेबाट बच्नु नै डेङ्गुको सङ्क्रमणबाट जोगिनु भएको उल्लेख गर्दै त्यसबाट बच्न लामखुट्टेको बासस्थान नै नष्ट गर्न आवश्यक भएको बताए । त्यस्तै नेपालगन्ज उपमहानगरपालिकामा डेङ्गु सङ्क्रमित भेटिएपछि लामखुट्टेका लार्भा र फुल नष्ट गर्न थालिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार १२:०२