सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा पाठ्यपुस्तक अभाव हुँदा पढाइ प्रभावित

बझाङमा पाठ्यपुस्तक अभाव हुँदा पढाई प्रभावित बनेको छ । नयाँ शैक्षिक सत्र सुरु भएको ४ महिना वितिसक्दा पनि बझाङका सामुदायिक विध्यालयका विध्यार्थीहरुले अझै पनि पाठ्यपुस्तक पाएका छैनन् ।

यसबाट पठनपाठन प्रभावित हुन थालेको छ, विद्यार्थी विद्यालय जान मानेका छैनन् भने शिक्षकहरु फुर्सदिला बनेका छन् । गत वैशाख २५ गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि विद्यार्थीले अझैसम्म पनि पाठ्यपुस्तक पाउनसकेका छैनन् ।

विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा विद्यार्थी अन्योलमा परेका हुन् । जिल्लाका दुर्गम भेगका विद्यालयमा मात्रै होइन सरदमुकाम चैनपुर बजारकै सत्यवादी माध्यमिक विद्यालय, बालमन्दिर आधारभूत विद्यालय लगायतका विद्यालयमा पनि पाठ्यपुस्तकको अभाव भएको छ ।

किताब नपाउँदा अध्ययनमा समस्या भएको सत्यवादी माध्यमिक विद्यालयका विद्यार्थी मिलन सिंहले बताए । अहिले नयाँ किताब नआउँदा पुराना किताब साथीहरुसँग मिलेर पढ्नुपर्ने अवस्था आएको साइपाल गाउँपालिकामा रहेको धलौन माध्यामिक विद्यालयको कक्षा ८ मा अध्ययनरत लवकुमार धामीले जानकारी दिए ।

जिल्ला सदरमुकाममै पढ्ने विद्यार्थीले त पाठ्यपुस्तक अहिलेसम्म पाएका छैनन् भने दुर्गमका विद्यार्थीले पाउनसक्ने अवस्था तत्कालै देखिदैन । विद्यार्थीले पाठ्यपुस्त पाउन नसक्दा पठनपाठनमा समस्या भएको सत्यवादी माध्यामिक विद्यालयका शिक्षक लक्ष्मण उपाध्यायले बताए ।

जयपृथ्वी नगरपालिकाका शिक्षा संयोजक देवेन्द्र जोशीले भने आफुले पुस्तक खरिदको लागि चैतको महिना विद्यालयको खातामा रकम हालिसकेको र कतिपय विद्यालयका प्रधानाध्यापकले बजारमा पुस्तक अभाव भएकोले खरिदमा ढिलाई भएको जवाफ दिने गरेको बताए ।

कतिपय विद्यालयले धनगढी, महेन्द्रनगरबाट ल्याएर विद्यार्थीलाई पुस्तक वितरण गरेको भए पनि भदौ सकिनै लाग्दासमेत पुस्तक नपुगेको आफुले जानकारी पाएको समेत संयोजक जोशीको भनाई छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार १०:३८