एक किशोरीमाथि बलात्कार गरेको आरोपमा किटानी जाहेरी परेपछि विवादमा आएका निलम्बित राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने स्वदेश फर्किने भएका छन् । सन्दीपले सीपीएल छोडेर नेपाल फर्किन लागेको बताएका हुन् ।
आफूमाथि लागेको आधारहीन आरोपको सामना गर्न आफू तयार रहेको र बलात्कार आरोपमा आफू निर्दोष रहेको भन्दै नेपालको कानुनप्रति भरोसा रहेकोले अनुसन्धानमा सघाउने उनको भनाइ रहेको छ ।
काठमाडौं जिल्ला अदालतले बिहीबार सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । बलात्कार आरोप लागेपछि बिहीबार क्यानले एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरिएको थियो । नाबालिगलाई बलात्कारको आरोप लागेका सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएपछि क्यानले निलम्बन गरेको हो ।
मंगलबार नुवाकोट घर भएकी एक १७ वर्षीया किशोरीले सन्दीपले आफूलाई भदौ ५ गते पिंगलास्थानको होटलमा लगेर पटक–पटक जबरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । महानगरीय प्रहरी बृत्त गौशालामा उनी विरुद्ध जाहेरी परेपछि प्रहरीले प्रकरणको अनुसन्धान गरिरहेको छ ।
किशोरीले आफूमाथि जबरजस्ती करणी भएको होटलमा सन्दीप र किशोरी राति ११ बजेर ५५ मिनेट जाँदा प्रवेश गरेको र बिहान साढे ६ बजे निस्किएको सीसीटिभी फूटेजमा देखिएको प्रहरीको भनाई रहेको रहेको छ ।
सन्दीप स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलबाटै नियन्त्रणमा लिने प्रहरीको तयारी रहेको छ ।
सत्यपाटी । काठमाडौँ ।