सूचनाको शक्ति - The Power Of Information

        

आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा आज शुक्रबार धुमधामसाथ मनाइँदैछ । उपत्यकाका जात्राहरु मध्येको प्रमुख जात्रा मानिने ईन्द्रजात्रा हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाउने गरिन्छ ।

एक सातासम्म मनाइने यस पर्वमा शुक्रबार कुमारी, गणेश र भैरवको रथयात्रा निकाल्ने गरिन्छ । आजै अपरान्ह बसन्तपुरस्थित गद्दी बैठक अगाडि आयोजना हुने विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी, गणेश र भैरवको रथयात्राको अवलोकन गर्नुका साथै पूजा गर्नु हुनेछ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाउने गरिन्छ ।

सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार ०८:०१