सूचनाको शक्ति - The Power Of Information

        

समयमा काम नगर्ने कम्पनीलाई कारबाही हुन्छ : सहरी विकासमन्त्री

सहरी विकासमन्त्री मेटमणि चौधरीले समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गरिने चेतावनी दिएका छन् । भेरी अस्पताल नेपालगन्जमा निर्माणाधीन ओपिडी भवनको बिहीबार स्थलगत निरीक्षण गर्दै मन्त्री चौधरीले सो चेतावनी दिएका हुन् ।

‘निर्माण कम्पनीले काम सम्पन्न गर्नुपर्ने समयको सबैभन्दा बढी ख्याल गर्नुपर्छ,’ मन्त्री चौधरीले भने, ‘समयमै काम सम्पन्न नगर्ने र पटक–पटक म्याद थप गर्ने कार्य रोक्न आवश्यक छ । निर्माण कम्पनीले यही मङ्सिर २३ गतेभित्र अस्पतालको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्ने गरी काम गर्नुपर्छ ।’

भेरी अस्पतालमा सहरी विकास मन्त्रालयले निर्माण गरिरहेको ओपिडी भवन निर्माण सम्पन्न भई हस्तान्तरण भएपछि भेरी अस्पतालको स्तरोन्नति भई करिब ५०० शैयाको हुनेछ । सो अवसरमा मन्त्री चौधरीलाई अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईँले अस्पतालमा थप भवन निर्माणका लागि आग्रह गरे । डा. चापागाईँले भने, ‘हाल जीर्ण रहेको पुरानो भवन भत्काएर अत्याधुनिक भवन निर्माण गर्ने योजना अस्पतालको छ ।’

त्यसका लागि सहयोग गर्न मन्त्री चौधरीलाई चापागाईँले आग्रह गरे । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अर्थ मन्त्रालयको स्वीकृतिअनुसार एक अर्ब २५ करोडको लागतमा अन्डरग्राउन्ड पार्किङसहित सात तल्ले भवन निर्माण गरिने बताउँदै सहरी विकास मन्त्रालयसँग ठूलो अपेक्षा राखिएको बताए । निर्माणाधीन भवनका लागि आवश्यक स्वास्थ्य उपकरण र मेसिनका लागि मन्त्रालयसँग सहयोगका लागि अध्यक्ष धितालले आग्रह गरे ।

यसैबीच मन्त्री चौधरीले बाँकेको जानकी गाउँपालिका–३ मानपुरमा निर्माण गरिने सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको बिहीबार शिलान्यास गरे । अस्पतालको शिलान्यास गर्दै मन्त्री चौधरीले अस्पताल निर्माणमा मन्त्रालयले सहयोग गर्ने आश्वासन दिदैं सिकलसेललाई थारु समुदायको स्वास्थ्य समस्यासँग मात्रै नजोडी सबैसँग हातेमालो गर्न जरुरी भएको बताए ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार १८:०८