बझाङ प्रहरीले विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनमा ल्याएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न विद्यालयहरुमै पुगेर सचेतना दिन थालिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र बझाङको आयोजनामा जिल्लाभित्रका विद्यालयहरुमा विद्यार्थीहरुलाई विभिन्न कुराका बारेमा जानकारी दिन थालिएको छ ।
उनले भने, ‘कार्यक्रम अन्तर्गत समाजमा हुने विभिन्न विकृतिहरुलाई न्यूनीकरण गर्न विद्यालयमा गएर कक्षा ९ र १० कक्षाका विद्यार्थीहरुलाई सचेतना दिन थालेका हौं ।’
विद्यालयमा विद्यार्थीहरुसँग सामाजिक सञ्जालको गलत प्रयोग र कानुनी व्यवस्था, लागुऔषध दुर्व्यसन रोकथाम, लैङ्गिक, घरेलु हिंसा, आत्महत्या, बालविवाह, सामाजिक अपराध रोकथाम, ठगीका घटना, बाल यौन दुर्व्यवहार लगायतका विषयमा छलफल गर्ने गरिएको छ ।
उनले भने, ‘विद्यालयमै पुगेर किशोर किशोरीसँग गरिने अन्तरक्रियाले समाजमा हुने विभिन्न विकृतिहरुलाई न्यूनीकरणका साथै हिंसाका घटनामा कमी हुने विश्वास छ ।’ विद्यार्थीहरुले पनि यस विषयमा पछिल्लो समय चासो राख्ने गरेका छन् ।
उक्त कार्यक्रम अन्तर्गत बिहीबार जयपृथ्वी नगरपालिका–४ गोलाईमा रहेको बालविकास माध्यमिक विद्यालयमा उक्त कार्यक्रम गरिएको छ ।
सत्यराज सिंह । बझाङ ।