सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेतमा गठबन्धनबाट समाजवादी ‘आउट’

सुर्खेतमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्रै गठबन्धन हुने भएको छ । स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनबीच सहमति नहुँदा एमालेले लाभ लिएको निष्कर्षसहित माओवादी र कांग्रेसको गठबन्धन पक्का गरिएको स्रोतले जनाएको छ ।

केन्द्रको सहमतिअनुसार कांग्रेसले दुई प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्य लिने भएको छ । अर्कातिर माओवादी दुई प्रदेश सभा सदस्यमा चुनाव लड्ने गरि भागबण्डा मिलेको स्रोतले उल्लेख गरेको छ । उक्त सहमतिअनुसार कांग्रेस र माओवादीले गठबन्धनबाट एकीकृत समाजवादीलाई नमिसाउने भएका छन् ।

गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा माओवादी र कांग्रेसबीच चुनावी तालमेल भएको थियो । त्यसबेला पनि समाजवादीलाई गठबन्धनबाट बाहिरै राखिएको थियो । त्यस्तै माओवादी र कांग्रेसबीच भएको सहमति अनुसार माओवादीको भागमा सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ र २ को ‘ख’ भाग परेको छ ।

माओवादी स्रोतका अनुसार निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेशसभा सदस्य कृष्ण जिसी ‘जितेन्द्र’ र २ ‘ख’बाट विन्दमान विष्टले टिकट पाउने निश्चित भएको हो । यस्तै, प्रतिनिधि सभातर्फ पनि कांग्रेसका उम्मेदवार पक्का भएका छन् । निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का चुनाव लड्ने भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ बाट हृदयराम थानी लड्ने निश्चित भएको स्रोतले जनाएको छ । सत्तारुढ गठबन्धनका दुई दलबीच भएको सहमतिअनुसार निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ २ ‘क’ पनि कांग्रेसले नै पाउने निश्चित भएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार १४:५९