सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य

भेरी अस्पतालमा बिरामीको चाप, पीपल चौतारीमा राखेर उपचार

भेरी अस्पतालमा उपचारका लागि आएकामध्ये हालसम्म १२ जनामा डेङ्गु देखिएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचारका लागि आएका विरामीहरु । फाइल तस्वीर

भेरी अस्पताल नेपालगन्जमा आपतकालीन कक्षमा १६ शैया रहेकोमा बुधबार रातिदेखि बिहीबार मध्यान्हसम्म २५ शैयामा बिरामी भरिएका छन् । १५० शैया रहेको अस्पतालमा सोभन्दा बढी बिरामी उपचाररत रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री चापागाईले जानकारी दिए ।

शैया अभाव भएपछि बुधबार बिरामीलाई आपतकालीन कक्षभित्र बेञ्च तथा बाहिरको पीपल चौतारीमा राखेर उपचार गरिएको छ । पछिल्लो समय कोभिड वार्डका लागि छुट्याइएको वार्डमा समेत बिरामी राखेर उपचार भइरहेको छ । दम, सर्पदंश र स्क्रब टाइफसका बिरामी अस्पतालमा आउने क्रम बढेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.चापागाईले भने, ‘पछिल्लो दिनमा डेङ्गुका बिरामी समेत धेरै देखिन थालेका छन् ।’ भेरी अस्पतालमा उपचारका लागि आएकामध्ये हालसम्म १२ जनामा डेङ्गु देखिएको छ । बुधबार यहाँ अस्पतालमा दुई जना डेङ्गु बिरामीको निधन भएको छ ।

निजी अस्पतालले सरकारले सञ्चालन गरिरहेको स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेपछि भेरीमा बिरामीको चाप बढेको छ । अस्पतालमा बीमासँगै सामान्य बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको चिकित्सकको भनाइ छ ।

बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेपछि आपतकालीन कक्ष बाहिर अस्थायी संरचना निर्माण गरेर पनि बिरामीलाई उपचार सेवा दिने तयारी भइरहेको मेडिकल सुपरिटेन्डेन्ट डा.चापागाईले बताए । भेरी अस्पतालप्रति आम नागरिकको विश्वास बढ्दै गएका कारण पनि उपचारका लागि आउने बिरामीको सङ्ख्या बढिरहेको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालले मेडिसिन, सर्जरी, प्रसूति, बाल उपचार, नाक, कान, घाँटी, छाला, हड्डी, दाँत, मानसिक, न्यूरो लगायतका उपचार सेवा प्रदान गर्दै आएको छ । भेरीमा पश्चिम नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा भारतबाट समेत बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार १४:२४