नेपाली किक्रेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेपछि अनुसन्धान अघि बढाइएको छ ।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार पीडितको स्वास्थ्य परीक्षण सकेर थप अनुसन्धान अघि बढाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सो घटनाको सुक्ष्म अनुसन्धान अघि बढाएको प्रवक्ता राईले जानकारी दिए । सन्दीपविरुद्ध १७ वर्षीय नाबालिगले बलात्कार गरेको आरोपसहित प्रहरीमा उजुरी दिएकी हुन् ।
काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा लगेर काठमाडौं ल्याई राती ११ बजेर ५५ मिनेटको समयमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलमा जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
पीडितले ०७९ भदौ ५ गते राती जबर्जस्ती करणी गरेको आरोप उल्लेख गर्दै मंगलबार (२१ भदौ) मा प्रहरी वृत्त, गौशालामा पीडितले जाहेरी दिएकी हुन् । प्रहरीले एकद्धार संकट ब्यवस्थापन केन्द्रमा लगेर विस्तृत स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जानकारी दिएको छ ।
लामिछाने अहिले देशमा छैनन् । नेपाली टोलीको नेतृत्व गर्दै लामिछाने केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखला खेल्न भदौ ६ गते राजधानी नैरोबीतर्फ प्रस्थान गरेका थिए ।
केन्यामा पाँच खेलको टी–२० सिरिज खेलेपछि उनी वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए । त्यसको अघिल्लो रात लामिछानेले आफूमाथि जबर्जस्ती करणी गरेको किशोरीको आरोप छ ।
लामिछाने हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् । इन्डियन प्रिमियर लिग, बिग ब्यास लिगजस्ता फ्रेन्चाइज प्रतियोगिता खेलेर ग्लोबल स्टार बनेका लामिछाने जनवरीयता नेपाली राष्ट्रिय टोलीका कप्तान छन् । उनी सन् २०१६ देखि नेपाली टोलीबाट लगातार खेल्दै आएका छन् ।
सत्यपाटी । काठमाडौँ ।