सूचनाको शक्ति - The Power Of Information

        

पल शाहलाई २ वर्ष ६ महिना जेल

पूर्णविक्रम शाह अर्थात् पल शाहलाई बाल यौज दुरुपयोगमा २ वर्ष ६ महिना जेल सजाय हुने फैसला भएको छ । नवलपुर जिल्ला अदालतमा चलिरहेको जबरजस्ती करणी मुद्दामा पल शाहले सफाई पाएका हुन् ।

मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाई दिएका हुन् ।

उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजायका साथै पीडकबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने र २५ हजार रुपैयाँ जरिवाना गराउने फैसलासमेत भएको छ ।
दफा २२५ अनुसार बालयौन दुरुपयोग गरेमा ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

फैसलामा पीडित नाबालिकाको अभिभावक र सञ्चारमाध्यमलाई पनि सचेत गराइएको छ । उमेर नपुगेकी आफ्नी नाबालिग छोरी घरबाहिर हुँदा अभिभावक साथमा नरहेको पाइएको कारण अभिभावकीय जिम्मेवारी पूरा नगरेकामा सचेतसमेत गराइएको छ ।

साथै सञ्चारमाध्यमले पीडितको पहिचान खुल्नेगरी समाचार प्रकाशन तथा प्रसारण गरेको कारण पीडितको वैयक्तिक गोपनीयतामा क्षति पुगेको कारण त्यसतर्फ सचेत भइदिन आग्रह गरिएको छ ।

नवलपुर जिल्ला अदालतबाट सफाई पाए पनि शाहको मुद्दा तनहुँ जिल्ला अदालतमा समेत विचाराधीन अवस्थामै रहेको छ । तनहुँ जिल्ला अदालतबाट समेत सफाई पाएको अवस्थामा र नवलपुर जिल्ला अदालतले तोकेको जेल सजाय काटेपछि भने उनी थुनामुक्त हुन सक्नेछन् ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार ०९:०३