सूचनाको शक्ति - The Power Of Information

        

विचार

को होला राजनीतिको ठूलो खेलाडी ?

एमाले जनताबाट भोट लिएर सरकारमा जान सक्ने अवस्थामा छैन । कांग्रेस पनि फुट्ने अवस्थामा छ ।

नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेस र मधेशी दल उपेन्द्र यादव दौडधुप गरिरहेका छन् । प्रचण्डले जे भन्यो गठबन्धनभित्र त्यही नै चल्छ । मानौं मुलुकको राजनीति नै प्रचण्डको हातमा छ । प्रचण्डको हात समाएर हिँडिरहेका अन्य पार्टीलाई आउँदो चुनावमा जनताले भोट दिन्छ ? शेरबहादुर देउवा, माधव नेपाल, गगन थापा र उपेन्द्र यादवलाई कान्छी औलामा राखेर प्रचण्डले फनफनी घुमाइरहेका छन् । सरकार देउवाले नभई प्रचण्डले चलाएको भन्दा पनि त्यति फरक नपर्ला ।

प्रचण्ड राजनीतिमा कति चतुरे छन् भन्ने कुरा हरेक जनतालाई थाहा छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने उनी नै हुन् । यता, पद चैट बनाएर ओलीलाई भित्तामा पुर्याउने पनि प्रचण्ड नै हुन् । प्रचण्डले नौटंकी र नाटक गर्न राम्ररी जानेको छ । उसले घुर्की लगाउन, छिनमै कुरा फेर्न, रुन र हाँस्न जानेका छन् । आफ्नो फाइदाका लागि जुनै हदसम्म जाने व्यक्ति हुन्, प्रचण्ड । २०६४ सालको चुनावमा जनताले माओवादीलाई भारी मतका साथ पहिलो पार्टी बनाए । तर, कांग्रेस र एमालेको हातेमालोले उनको प्रधानमन्त्री पद एक झट्कामै गयो ।

प्रधानमन्त्री पद गुमेर रन्थनिएका प्रचण्ड अहिले यता चिप्किने, उता लस्किने काम गरिरहेका छन् । कहिले कांग्रेस त कहिले एमालेसँग नजिक भएर उनी सरकारमा गएका छन् । २०७० सालको चुनावमा माओवादी थोरै सिटमै सिमित बन्यो । २०७४ मा पनि माओवादीले सोचेअनुसार नतिजा पाएन् । न्यून सिटमै थन्कियो । जनताले भोट नदिए पनि कांग्रेसलाई भर्याङ बनाएर २०७० सालपछि पनि उनी प्रधानमन्त्री बने । जनताले नपत्याए पनि माओवादीका नेताहरु सरकारमा गइरहेका छन् । सरकारको मुख्यमुख्य मन्त्रालय माओवादीको कब्जामा छ । अनि जनताले भोट नदिएर माओवादीलाई के फरक पर्दोरहेछ ?

माओवादीलाई जनताले सानो पार्टी बनाए पनि प्रचण्डले अन्य पार्टीका नेतासँग लट्पट गरेर सरकार चलाइरहेका छन् । माओवादीले काम गर्न नसकेको प्रमाण त जनताको आँखा अगाडि छ । २०५२–०६३ सालसम्म जनयुद्ध गर्यो । परिवर्तनको बाढी ल्याउने भन्दै माओवादीले एक दशक बढी युद्ध गर्यो । १७ हजार नेपाली युद्धमा परेर मरे । अझै पनि कति बेपत्ता छन् । सरकारको सम्पत्ति त्यतिबेला कति क्षति भयो कति । माओवादीले मुलुकमा परिवर्तन ल्याउने, देशलाई अर्कै उचाइमा पुर्याउने आश्वासन दियो तर काम गरेर देखाउन सकेन् । माओवादीले राम्रो काम गर्ला भन्ने विश्वास गरेका जनताले पनि उसलाई जिताए ।

१२१ क्षेत्रबाट माओवादी प्रत्यक्ष निर्वाचित भएर आएको थियो । केही क्षेत्रमा थोरै मतान्तरका कारण माओवादीका उम्मेदवार हारेका थिए । माओवादीले जनताको साथ पाउने भयो र आगामी पाँच दशक उसले सरकार चलाउँछ भन्ने डर अन्य शीर्ष पार्टीहरुलाई पर्यो । त्यसपछि ओली, देउवा, महेश बस्नेत र गगन थापाले कोठे राजनीति शुरु गरे । कोठे राजनीति शुरु गरेपनि प्रचण्डले बुझेनन् । भर्खर जंगलबाट बाहिर आएका प्रचण्डले कुटनीति बुझेनन् । जब प्रचण्डले अन्य पार्टीबाट धक्का पाए, अनि मात्र उनले कोठे राजनीति बुझे । न कांग्रेस र एमालेले संविधान बनाउन दिए न उनले बनाउन सके नै ।

कांग्रेस र एमालेले यसको फाइदा उठाए । माओवादीले केही गर्न सक्दैन, संविधान पनि बन्दैन भनेर जनतामा भ्रम फैलाउने काम भयो । माओवादीलाई सिध्याउनका लागि यी दुई पार्टी जयान फालेर लागिपरे । जसको नतिजा २०७० सालको चुनावमा देखियो । मुलुककै ठूलो पार्टी बनेको माओवादी बेस्सरी पछारियो । सानो पार्टीमै संकुचित भयो । २०६५ सालमा प्रधानमन्त्री बनेका प्रचण्डले नौ महिना पनि प्रधानमन्त्री चलाउन पाएनन् । २०६४ सालको चुनावमा माधव नेपालले दुई क्षेत्रबाट चुनाव हारेको थियो । तर, चुनाव हारेका व्यक्तिलाई मनोनित सांसद् बनाइयो । २०६६ सालमा प्रचण्डकै बलमा माधव नेपाल प्रधानमन्त्री बने ।

उनले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिए । त्यही माधव नेपाललाई प्रधानमन्त्री पदबाट हटाउनका लागि माओवादीले ठूलो आन्दोलन गर्नुपर्यो । उनी हटेपछि झलनाथ खनाल आफूलाई प्रधानमन्त्री बनाउन आग्रह गर्दै प्रचण्डको शरणमा पुगे । अनि झलनाथले पनि प्रधानमन्त्री खाए । उनले पनि प्रधानमन्त्री भएर सिन्को भाँचेनन् । जनता र राष्ट्रका लागि केही काम गरेनन् । त्यसपछि झलनाथलाई हटाएर बाबुराम भट्टराईलाई माओवादीले प्रधानमन्त्री बनायो । पहिले नै बाबुरामलाई प्रधानमन्त्री बनाउनुपथ्र्यो । पाँच वर्षको अवधिमा संविधान बनाउन र देशको विकास गर्न भनेर जनताले भोट दिएर पहिलो पार्टी बनाएको थियो ।

तर, एमाले र कांग्रेसले त जनताको दिमागमा माओवादीका बारेमा नराम्रो छाप छोडेको थियो । बीचमा बसेर यी दुई पार्टीले भड्काउने काम गरे । माओवादीको समर्थनमा माधव नेपाल र झलनाथ खनाललाई प्रधानमन्त्री बनाउनु ठूलो गल्ती थियो । आफू हटेपनि माओवादीभित्र त थुप्रो नेताहरु थिए । तर, घरका लाई विश्वास नगरेर प्रचण्ड बाहिरीका व्यक्तिहरुको खोजीमा निस्किए । बाबुराम भट्टराई, मोहन वैद्यलाई प्रधानमन्त्री बनाइदिएको भए पार्टी फुट्दैनथ्यो । देशामा विकास पनि हुन्थ्यो संविधान पनि बन्थ्यो । जनताको विश्वास अटल रहिरहन्थ्यो । माधव नेपाल र झलनाथ खनालले प्रचण्डको राजनीति तहसनहस बनाइदिए । माओवादी पार्टी ध्वस्तै बन्यो र जनताबाट पनि नाङ्गियो ।

२०६९ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा वालुवाटार र थानकोटको मातातीर्थको सयौं रोपनी जग्गा व्यक्तिको नाममा पास गरियो । भट्टराईले पनि संविधान बनाउन सकेनन् । अलिकति पनि विकासको क्रियाकलाप अघि बढ्न सकेनन् । अन्तमा सर्वोच्च अदालतका न्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा २०६९ साल चैत १ गते सरकार बन्यो । रेग्मीको सरकारले २०७० सालमा चुनाव गरायो । २०७० सालको चुनावमा माओवादी गम्भीर घायल भयो । जनताले नपत्याएपछि माओवादी पहिलोबाट झरेर तेस्रोमा आइपुग्यो । प्रचण्ड छाँगाबाट खसेझैं भए । त्यतिखेर उनले बल्ल कांग्रेस र एमालेको कुटनीति बुझें । तर, सबै कुरा सुधार्नका लागि धेरै ढिला भइसकेको थियो ।

२०६४ सालमा गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाएर आफूले प्रधानमन्त्री खाएको भए त्यतिखेर नै संविधान बन्थ्यो । ५० वर्षसम्म माओवादी पहिलो पार्टीमा यथावत रहिरहन्थ्यो । गिरिजालाई राष्ट्रपति नदिनु नै माओवादीका लागि अभिशाष बन्यो । जब चुनाव हार्यो तब माओवादीलाई आफूले गरेको गल्तीको आभास भयो । गिरिजालाई राष्ट्रपति नदिएकोमा थकथकी लाग्यो । माओवादीको खुङ्खार विरोध गर्नेमा केपी ओली, महेश बस्नेत र गगन थापा थिए । माओवादीलाई कमजोर बनाउने यी तीन जना हुन् । आफू स्थापित हुनका लागि पनि विरोध गरियो । चर्चामा आउन र चुनाव जित्नका लागि तीन जना मिलेका थिए । तर, यसको प्रतिकार माओवादीका कुनै नेताले गर्न सकेनन् ।

माओवादीकै विरोध गरेर महेश बस्नेतले चुनाव जिते । केपी ओली र गगन थापा पनि सत्तामा गए । तर, माओवादी जहाँको त्यही रहयो । तर, पछिल्लो समय राजनीति ठ्याक्कै उल्टो बनेको छ । ढिलो भए पनि प्रचण्डले राजनीति र कुटनीति बुझे । प्रचण्डले एमाले पार्टी फुटाएर टुक्राटुक्रा बनाइदिए । एमाले जनताबाट भोट लिएर सरकारमा जान सक्ने अवस्थामा छैन । माधव नेपाल र झलनाथ खनाललाई आफ्नो झोले बनाइदिए । कांग्रेस पनि चार टुक्रामा बाँडिने अवस्थामा छ । शेरबहादुर देउवा प्रचण्डको पछिपछि हिँड्छन् । गगन थापा एकातिर रामचन्द्र पौडेल अर्कोतिर । पार्टीभित्रै घमाशान चल्छ । कांग्रेस पनि फुट्ने अवस्थामा छ । कांग्रेसको समय सकिँदै गएको छ । अहिले कांग्रेसका कार्यकर्ताहरुले प्रचण्डलाई आरोप लगाउन थालिसकेका छन् ।

माओवादीले गर्दा आफ्नो पार्टी फुट्न लागेको कार्यकर्ताहरुले पत्तो पाइसकेका छन् । आगामी मंसिर ४ गते हुन लागेको स्थानीय चुनावमा माओवादीको योजना देखिनेछ । कांग्रेस, एमाले लगायत अन्य पार्टी नराम्ररी पछारिनेछन् । चुनाव पछाडि प्रचण्डले अन्य पार्टीलाई फनफनी घुमाउँछन् । कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर प्रधानमन्त्री खान्छन् । चुनावपछि प्रचण्डकै नेतृत्वमा सरकार बन्छ । जनताले भोट पाए पनि राजनीति शक्ति प्रचण्डको हातमा हुन्छ । कांग्रेस र मधेशी दललाई जसरी माओवादीले नचाइरहेको छ, त्यसको नतिजा चुनावपछि देखिन्छ । यसपछि फेरि एमालेसँग मिलेर प्रधानमन्त्री खाने दाउ प्रचण्डको छ । राजनीतिको बाउ प्रचण्ड हुन्, उनीसँग कसैले सक्दैन ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार ०८:३८