सूचनाको शक्ति - The Power Of Information

        

आचारसंहिता लागू भईसकेपछि गृहले गर्‍यो बाँके सहित दर्जन बढी जिल्लामा सिडिओ हेरफेर

सरकारले काठमाडौं उपत्यकासहित एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

उपत्यकासहित महत्त्वपूर्ण जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरिएको हो ।

ललितपुरमा सीडीओ रहेका घनश्याम उपाध्यायलाई काठमाडौंको सिडिओ बनाइएको छ भने काठमाडौँका सिडिओ गोविन्द रिजाललाई गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा तानिएको छ ।

कास्कीमा सिडिओ रहेका जयनारायण आचार्यलाई ललितपुरमा ल्याइएको छ । यसैगरी, कास्कीको सिडिओमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई पठाइएको छ । जुम्लाकी सिडिओ विजया प्रसाईँ पनि मन्त्रालयमा तानिएकी छन् भने जुम्लामा मुकेशकुमार केसरीलाई पठाइएका छन् ।

यस्तै, दैलेखमा गोगनबहादुर हमाललाई पठाइएको छ भने दैलेखमा रहेका हरि प्याकुरेललाई बाँकेको सहायक सिडिओ बनाएर पठाइएको छ ।

बाँकेका सहायक सिडिओ टोपेन्द्र केसीलाई बाराको सिमरा इलाका प्रशासन कार्यालयमा सरुवा गरिएको छ भने पाँचथरमा सिडिओ रहेका सुरेश न्यौपानेलाई गृहमन्त्रालय तानेर गणेश गैरेलाई पाँचथरको सिडिओ बनाइएको छ ।

यसैगरी, संखुवाभाका सिडिओ नुरहरी खतिवडालाई सप्तरीको सिडिओ बनाइएको छ भने सप्तरीका सिडिओ जनार्दन गौतमलाई उदयपुर र उदयपुरमा सिडिओ रहेका वीरेन्द्र यादवलाई संखुवासभा सरुवा गरिएको छ ।

निर्वाचन आयोगले आगामी चुनावका लागि आचारसंहिता लागू भईसकेको भन्दै नयाँ नियुक्ति, बढुवा र सरुवा रोकिसकेको अवस्थामा गृहले सिडिओ सरुवा गरेको हो ।

गृहले आचारसंहिता लागू हुनु अघिको मिति राखेर सरुवाको निर्णय गरेको हुनसक्ने बताइएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार ०८:२६