कोरोना भाइरस संक्रमणका कारण विश्वब्यापी महामारी भइरहेका बेला गाईवस्तुमा पनि नयाँ भाइरस देखापरेको छ । नेपालमा पशुचौपायामा देखापरेको यो भाइरस अहिले बझाङ जिल्लामा पनि देखापरेको छ ।
बझाङ जिल्लाको दुर्गाथली गाउपालिका–३, बित्थडचिर गाउँपालिका, मष्टा गाउँपालिकामा पशुचौपायामा नयाँ भाइरस देखापरेको हो । यो रोगका कारण दुर्गाथली गाउँपालिका–३ मा दर्जन बढी पशुचौपाया मरेको स्थानीयले बताएका छन् ।
पशुचौपायामा संक्रामक रोग देखा परेपछि नमुना काठमाडौं पठाई परीक्षण गर्दा ‘लम्पी स्क्रिन डिजिज’ नामको भाइरस पुष्टि भएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बझाङका प्रमुख बिनोद कठायतले बताएका छन् ।
पशुचौपायामा लाग्ने यो रोग एउटा पशुमा लागेपछि समुहमा रहेका अन्य पशुमा यो भाइरस सजिलै सर्ने गरेको प्रमुख कठायतले बताए । लामखुट्टे, झिँगा, किर्ना लगायतका किराहरुबाट रोग सर्ने गरेको पशु चिकित्सकहरु बताउँछन् ।
चिकित्सकका अनुसार यो रोग लाग्दा गाईवस्तुमा १०४ डिग्रीभन्दा माथि ज्वरो आउने, फोका आउने, आँखामा कचेरा लाग्ने, फिँज काढ्ने, घाँटी, पेटको वरिपरि १० देखि ५० एमएमसम्मको गिर्खाहरु आउने जस्ता लक्षणहरु देखिने गरेका छन् ।
जिल्लामा गाईबाख्रामा यो रोग देखा परेपछि किसानहरु हैरान भएका छन् । सम्बन्धीत निकायमा जानकारी गराउँदा समेत कसैले वास्ता नगरेको गुनासो गर्दै स्थानीय कृष्ण जोशीले पशुचौपाया मर्न थालेपछि किसानहरु चिन्तित बनेको बताए ।
यो रोग लागिसकेपछि गाईभैंसीको दूध उत्पादन घट्दै जानुका साथै बाँझोपना हुने तथा गर्भ रहेको पशुचौपायाको गर्भ तुहिने समस्या हुने गरेको् पशु चिकित्सकहरुले बताएका छन् । यसको अरु उपचार नहुने भएकाले गोठको सरसफाइमा ध्यान दिन तथा लामखुट्टे, झिँगा, किर्नाबाट बचाउन पशु प्राविधिकहरुले किसानहरुलाई सुझाव दिएका छन् ।
सत्यराज सिंह । बझाङ ।