सूचनाको शक्ति - The Power Of Information

        

सर्वसम्मत हुन सकेनन् एमाले युवा नेता महर

आसन्न निर्वाचनका लागि नेकपा एमालेका युवा नेता ऐन महर आफ्नै निर्वाचन क्षेत्रमा सर्वसम्मत सिफारिस हुन सकेनन् ।

बझाङबाट प्रतिनिधिसभा सदस्यका लागि महरसहित ३ जनाको नाम पार्टीले सिफारिस गरेको छ । एमाले बझाङले महरसहित जिल्ला कमिटी सदस्य महेश भट्टराई र जुना जाग्रीको नाम पनि सिफारिस गरेको छ ।

जिल्ला कमिटीको अभिमतको आधारमा उम्मेदवारहरुको नामावली केन्द्रमा सिफारिस गरिएको पार्टीका जिल्ला सचिव आनन्दलाल विश्वकर्माले बताए ।

विश्वकर्माका अनुसार समानुपातिकतर्फ विश्वकर्मा लगाएत ११ जनाको नाम सिफारिस गरिएको छ । जसमा आनन्दलाल विश्वकर्मा, अर्जुन थापा, जनकराज जोशी,राधा कुमारी विष्ट,भागरथी अवस्थी(जोशी), धनलक्ष्मी खत्री, सरिता कुमारी भण्डारी(खड्का), शंकर रसाइली, धर्मराज बोहरा, विजय श्रेष्ठ र डा.चेतराज जोशीको नाम सिफारिस गरिएको छ ।

अनेरास्ववियुको अध्यक्ष भैसकेका नेता महर गृहजिल्लामै सर्वसम्मत उम्मेदवार सिफारिस हुन नसक्दा उनको राजनीतिक भविष्यका विषयमा चर्चा चल्न थालेका छ ।

महरले भने, ‘एकल सिफारिस नभए पनि प्रतिनिधी सभामा चुनाव लड्ने म नै हो’ भन्दै गृह जिल्लामा सक्रिय देखिन्छन् । विशेषगरी जिल्लाका ग्रामीण क्षेत्रमा पछिल्लो समय उनको दौडधुप बढी देखिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार १८:३९