अमेरिकाबाट आएको पार्सल (सामान) पक्कै मूल्यवान् नै होला भन्ने धेरैले सोचेका हुन्छन् । त्यसमा पनि हुलाक प्रयोग गरेर आएको पार्सल झनै महत्त्वपूर्ण होला भन्ने धेरैको आशा हुन्छ । तर, अमेरिकाबाट आएको एउटा पार्सल खोल्दा लागुऔषध गाँजा भेटिएको छ ।
सोमवार गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा आएको पार्सल खोल्दा दुई केजी लागुऔषध गाँजा भेटिएको छ । प्रहरीले उक्त पार्सल प्रकरणमा तीन जना युवालाई नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी विकासराज खनालले हुलाकमार्फत लागुऔषध कारोबार भएको सूचना प्रहरीसम्म आएको बताए ।
‘त्यही क्रममा अनुसन्धान गर्दा अमेरिकाबाट आएको एउटा पार्सलमा गाँजा भेटिएको हो,’ एसएसपी खनालले भने । प्रहरीले पार्सल प्रकरणमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–७ बस्ने २७ वर्षीय मनोज राई, काठमाडौं महानगरपालिका–१ नक्साल बस्ने ३० वर्षीय अंकितकुमार श्रेष्ठ र खुसिबु बस्ने ३० वर्षीय राहुल क्षेत्रीलाई नियन्त्रणमा लिएको हो ।
राहुल र अंकितले मनोजलाई ३० हजार रुपैयाँ दिने सर्तमा गाँजा भएको पार्सल लिन पठाएका थिए । पार्सल अमेरिकाको क्यालिफोर्नियाबाट आएको खुलेको छ । तर, पार्सल कसले पठाएको हो ? कसलाई दिने भन्ने अनुसन्धानमा नखुलिसकेको एसएसपी खनालले बताए ।
त्यसो त क्यानडाबाट पनि यसअघि यस्तै प्रकृतिको पार्सलमा गाँजा आएको थियो । लागुऔषध गाँजा नेपालमा पनि उत्पादन हुन्छ । हिमाली क्षेत्रको गाँजा सेवनकर्ताले महँगो मूल्य तिरेर किन्ने गरेको प्रहरीको अनुसन्धानमा खुल्छ । तर, अमेरिकाबाट नै पार्सल गरेर गाँजा किन पठाए भन्ने खुल्न सकेको छैन ।
‘यो अलिक राम्रो गुणस्तरको गाँजा मानिन्छ । तर, किन र कसको लागि पठाइएको हो भन्ने विषयमा अनुसन्धान गरिरहेका छौँ,’ लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी खनालले भने । नेपालमा लागुऔषध गाँजाको मूल्य प्रतिकिलो ४० हजार रुपैयाँसम्म पर्ने गरेको छ ।
सत्यपाटी । काठमाडौं ।