सूचनाको शक्ति - The Power Of Information

        

समाचार

‘नरैनापुर गाउँपालिका’ संकटग्रस्त क्षेत्र घोषणा

जिल्ला विपद् व्यवस्थापन समितिले नरैनापुरलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

बाँकेको नरैनापुर गाउँपालिकामा भोकमरीको अवस्था सिर्जना हुनसक्ने देखिएको छ । यस्तो अवस्था सिर्जना भएपछि जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले नरैनापुर गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

बेमौसमी वर्षाका कारण गत वर्ष खेतमै धान कुहिएर नष्ट भएको र यस वर्ष समयमा पानी नपर्दा धान रोप्न नपाएपछि भोकमरी सिर्जना हुन सक्ने भन्दै नरैनापुरलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।

बेमौसमी वर्षाका कारण गत वर्ष खेतमै धान कुहिएर नष्ट भएको र यस वर्ष समयमा पानी नपर्दा धान रोप्न नपाएपछि भोकमरी सिर्जना हुन सक्ने भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले नरैनापुरलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

समयमा पानी नपर्दा यो वर्ष नरैनापुरमा १५ प्रतिशत धान रोपाइँ भएको र रोपाइ भएको धान पनि खेतमै सुकेको छ । गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरी पर्याप्त सिँचाइ, वैकल्पिक बाली प्रवर्द्धन तथा राहत वितरणको व्यवस्थाका लागि लुम्बिनी प्रदेश सरकार र संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिए ।

बाँकेका आठवटै पालिकाका प्रमुख–उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख लगायतको उपस्थितिमा बसेको सर्वदलीय बैठकपछि सहायक प्रमुख जिल्ला अधिकारी केसीले सुक्खा क्षेत्र नरैनापुरमा वैकल्पिक खेती गर्न कृषि ज्ञान केन्द्र र सम्बन्धित पालिकाले बिउबिजन उपलब्ध गराई बाली लगाउन कृषकलाई प्रोत्साहन गरिने बताए ।

‘भोकमरीको अवस्था आउन नदिन नरैनापुरलाई सहयोग गर्न विभिन्न दातृ निकाय तथा दुवै तहका सरकारसँग आग्रह गर्ने निर्णय विपद् व्यवस्थान समितिले गरेको छ,’ उनले भने । गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएपछि केहि आशा पलाएको अध्यक्ष इस्तियाक अहमद शाहले बताए । उनले संकटग्रस्त घोषणासँगै राहतका कार्यक्रम आउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार १५:४४