सूचनाको शक्ति - The Power Of Information

        

गाउँपालिका अध्यक्षकी श्रीमतीले दिइन् भान्छेबाट राजीनामा, तलब पनि फिर्ता

अछामको रामारोशन गाउँपालिकामा भान्छे नियुक्ति भएकी जयसरा साउँदले राजीनामा दिएकी छन्।

गाउँपालिका अध्यक्ष मानबहादुर साउँदले श्रीमतीलाई करारमा भान्छे नियुक्त गरेपछि आलोचना भइरहेको थियो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले भान्छे नियुक्त भएकी साउँदले राजीनामा दिएको र स्वीकृतसमेत भइसकेको बताए।

‘अध्यक्षको कार्यकक्ष र क्वार्टरमासमेत काम गर्ने प्रयोजनका लागि गाउँपालिकाबाट भान्छे नियुक्त गरिएकोमा उक्त प्रकरणलाई अतिरन्जित गरी जनस्तराटसमेत व्यापक आलोचना भएकोले जयसरा साउँदले राजीनामा दिई स्वीकृतसमेत भएको छ,’ सोमबार प्रशासकीय अधिकृत भण्डारीले जारी गरेको प्रष्टीकरणमा उल्लेख छ।

साउँदले भान्छे पदमा रही काम गरेबापत लिएको पारिश्रमिक पनि फिर्ता गरेकी छन्। ३१ हजार छ सय ३० रूपैयाँ साउँदले फिर्ता गर्दै गाउँपालिकाको सञ्चित कोषमा दाखिला गरेको पनि उनले बताएका छन्।

अध्यक्ष मानबहादुर गत स्थानीय चुनावमा नेपाली कांग्रेसबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार ०८:३०