साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि काठमाण्डौमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानसँग खेल्दैछ ।
खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । पछिल्लो संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो ।
दक्षिण एसियाका सातै देशले सहभागिता जनाउन लागेको प्रतियोगितालाई साफले दुई समूहमा विभाजन गरी लिगकम नकआउटको आधारमा खेलाउँदैछ ।
प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स गरी सात देशले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ए’ मा नेपाल, श्रीलङ्का र भुटान छन् ।
समूह ‘बी’ मा भारत, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स छन् । प्रत्येक समूहबाट अङ्कको आधारमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
नेपाली महिला टोलीको कप्तानका रुपमा जिम्मेवारी पाएकी एन्जिला तुम्बापो सुब्बाले घरेलु समर्थक र मैदानको भरपुर फाइदा उठाउँदै खेल्ने र उपाधि जित्न प्रयास गर्ने बताएकी छिन् ।
सत्यपाटी । काठमाडौँ ।