सूचनाको शक्ति - The Power Of Information

        

विकास

पूर्वाधार मन्त्री राईद्वारा एकैदिन चार पुलको शिलान्यास

मन्त्री राईले भने, ‘धर्म, सम्प्रदाय होइन अब विकास रसमृद्धिको राजनीति गरौं ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले बाँकेमा एकैदिन चारवटा पक्की पुल निर्माणको शिलान्यास गरेका छन् । मन्त्री राईले सोमबार बाँकेको डुडुवा गाउँपालिकाको डुडुवा नदीमा चार वटा स्थानमा पक्की पुल निर्माणका लागि शिलान्यास गरेका हुन् ।

उनले डुडुवा गाउँपालिकाका टेपरी–चौफेरी जोड्ने ९० मिटर, नौरीगौडी–कैरातीपूर्वा जोड्ने ५० मिटर, राजारामपूर्वा–हल्कारापूर्वा जोड्ने ४५ मिटर र मोल्हुपूर्वा अमराहवा–लडियाघाट जोड्ने ४५ मिटर लामो पुल निर्माणको शिलान्यास गरे ।

डुडुवा–१ मा आयोजित शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले जनतालाई आवागमनमा सहजता प्रदान गर्न सरकारले सडक र पुलको निर्माणलाई प्राथमिकतामा राखेको बताए । सानो समयमा पनि सरकारले देशका विभिन्न स्थानमा सयौँ पुल र सडकका योजनाहरू सुरु गरेको प्रष्ट पार्दै उनले केही वर्षमा ती योजना पूरा हुँदा हजारौँ जनताले सुविधा पाउने बताए ।

उनले डिजाइन एण्ड बिल्ड प्रक्रियाबाट पुल निर्माण गर्न टेण्डर आह्वान गरिसकेको जनाउँदै पुल सम्बन्धी सबै काम एकै कम्पनीले गर्ने बताए ।मन्त्री राईले अब विकासको राजनीति गर्नुपर्ने बेला भएकोसमेत बताएका छन् । राजनीतिको नाममा धर्म र साम्प्रदायिकता भड्काउन उद्दत राजनीतिक दल तथा नेताहरूलाई उनले जनताको मन जित्नका लागि विकास र समृद्धिको राजनीति गर्न सुझाव दिएका हुन् ।

उनले भने ‘अब धर्म र साप्रदायिकताको राजनीति छोड्नुस् । सक्नुहुन्छ भने विकास र समृद्धिको राजनीति गर्नुस् र जनताको मन जित्नुस् ।’ चुनावका बेला आमनागरिकलाई भ्रममा पार्न र साम्प्रदायिकता भड्काउने गतिविधिहरू बढेको भन्दा त्यस्ता क्रियाकलाप गर्नेहरूबाट सचेत हुन पनि उनले आग्रह गरे ।

‘यो क्षेत्रबाट धेरैले राजनीति गरे । धेरै नेता भए, सांसद भए । मन्त्रीहरू पनि भए । मन्त्रीमात्रै होइन यही बाँके जिल्लाबाटै राजनीति गर्नेहरू प्रधानमन्त्री पनि भए,’ उनले भने ‘तर बाँकेवासीले विकास कहिल्यै पाउन सकेनन् । प्रधानमन्त्री भएको जिल्ला पनि विकासमा सधैं पछि नै रह्यो ।’

उनले जिल्लामा विकासका अझै तमाम कामहरू अधुरा रहेका र तीनलाई पूरा गर्नका लागि आफू फेरि एकपटक चुनावमा होमिने पनि बताए । तर त्यसबाट अत्तालिएकाहरूले आफूविरूद्ध भ्रम छर्न धर्म र साम्प्रदायिकता भड्काउन खोजेको भन्दै उनले मिलेर बसेको समाजलाई भत्काउने कोसिस नगर्न पनि चेतावनी दिए ।

‘यो सबै समुदाय, सबै जातजाति र धर्म अनि सप्रदाय मिलेर बसेको समाज हो,’ उनले भने, ‘यसलाई बिथोल्ने प्रयास नगर्दा हुन्छ । धर्म र समुदाय बिथोलेर अब राजनीति चल्दैन । राजनीति गर्ने भए आउनुस् विकासका काममा प्रतिष्पर्धा गरौं। अब विकास र समृद्धिको राजनीति गरौं ।’ केही दिनदेखि गृह जिल्लाको भ्रमणमा रहेका मन्त्री राई विभिन्न कार्यक्रममा सहभागी भएर सोमबार काठमाडौँ फर्किएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार १८:३८