सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘निर्वाचनमा कुनै पार्टीसँग गठबन्धन हुँदैन’

संसद्को आयु निर्वाचनपछिको पहिलो बैठकसम्म कायम गर्न खोज्नु घोर अनैतिक काम ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कुनै पनि पार्टीसँग देशभर गठबन्धन नहुने बताएका छन् ।

राप्रपा बाँकेले सोमबार विहान नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले भने, ‘आधारभूत र सैद्धान्तिक रुपमा कुनै पनि पार्टीसँग गठबन्धन गरेर निर्वाचन सहभागी हुँदैनौँ ।’

उनले आवश्यकताका आधारमा जिल्ला तहमा एक क्षेत्रमा सहयोग गरेर अर्को क्षेत्रमा सहयोग लिएर जान सकिने बताए । तर यस बारेमा अहिलेसम्म ठोस प्रगति भने नभएको अध्यक्ष लिङ्देनको भनाइ छ ।

अन्य राजनीतिक दलबीच गठबन्धन हुँदा देशलाई माया गर्ने शक्तिहरुबीच निर्वाचनमा मिलेर जान सकिने भन्दै उनले यस विषयमा नेकपा एमालेसँग जिल्ला स्तरमा सकारात्मक छलफल अघि बढेको बताए ।

अघिल्लो निर्वाचनमा जस्तो केही सिटमा उम्मेदवारी दिने र अधिकांश क्षेत्रमा खाली हुने अवस्था आउन नदिने उनले बताए । राप्रपा तालमेल गरेर बढी सिट जित्ने भन्दा जनताको मत पाएर अधिकतम सिट जित्ने लक्ष्यका साथ निर्वाचनमा होमिने अध्यक्ष लिङ्देनले बताए ।

अध्यक्ष लिङ्देनले पार्टीका शीर्ष नेताहरूको क्षेत्रमा चुनावी तालमेल स्वाभाविक रहेको पनि बताए । विगत तीन दशकदेखि मुलुक सीमित राजनीतिक दलका सीमित नेताहरुहरुको चक्रव्यूहमा फसेको भन्दै राप्रपाको जित आवश्यक भएको बताए ।

उनले राप्रपालाई आगामी निर्वाचन पनि संसदमा अग्रणीरुपमा प्रस्तुत गर्न देशव्यापी जनताको समर्थन बढ्दै गएको दाबी गरे । उनले संसद्को आयु निर्वाचनपछिको पहिलो बैठकसम्म कायम गर्न खोज्नु घोर अनैतिक काम भएको टिप्पणी गरे । पार्टीका उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री डा.धवलशम्शेर राणा पत्रकार सम्मेलनमा उपस्थित थिए ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार १३:३२