सूचनाको शक्ति - The Power Of Information

        

भारतमा बस दुर्घटना, बाँकेको बिनौना गाउँ शोकमा

भारतमा भएको बस दुर्घटनामा परि एउटै गाउँका दुई युवाको ज्यान गएपछि यतिबेला बाँकेको राप्तीसोनारी गाउँपालिका–५ बिनौना गाउँ शोकमा डुबेकोछ ।

मजदूरीका लागि भारत जाँदै गरेका एउटै गाउँका दुई युवाको शनिबार बिहान करिब ३ः३० बजे भएको सडक दुर्घटनामा परि मृत्यु भएको हो ।

भारतको रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको युपी ९३ बि.टि. ९९४४ नम्बरको यात्रु बाहक बस उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित रामनगर थाना क्षेत्रको महंगुपुर गाउँ नजिक सोही दिशाबाट गइरहेको ट्रकले ठक्कर दिएपछि दुर्घटना भएको थियो ।

भारतको बाराबङ्कीमा भएको उक्त दुर्घटनामा बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर– ५ बिनौना गाउँका २५ वर्षीय प्रेम थारु, २४ वर्षीय शीतल थारु, दाङ तुलसीपुर उपमहानगरपालिका निवासी ४५ वर्षीय चक्रबहादुर ओलीसहित चार नेपालीको मृत्यु भएको थियो ।

दुर्घटनामा परी मृत्यु भएका राप्तीसोनारी–५ बिनौना निवासी प्रेम र शीतल फूपु र मामाका छोरा नाता पर्ने दुई भाइ हुन् । एउटै गाउँका दुई युवाको सडक दुर्घटनामा मृत्यु भएपछि सिङ्गो बिनौना गाउँ शोकमग्न भएको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–५ का वडाध्यक्ष झगरु थारुले बताए ।

‘गाउँ शोकमग्न छ, हामी सबै जम्मा भएका छौँ’, वडाध्यक्ष थारुले भने, ‘शोकमग्न आफन्तजन तथा गाउँबासी दाहसंस्कारका लागि आइपुग्नुभएको छ ।’ प्रेम र शीतल यसअघि पटक–पटक मजदूरीका लागि भारत जाने आउने गर्ने गरेका थिए ।

मृतक प्रेमका दुई बच्चा रहेका छन् भने शीतल अविवाहित थिए । एउटै दुर्घटनामा बिनौनाका दुई जना मृतक र केही घाइते भएपछि बिनौनाबासी शोकमग्न भएको वडाध्यक्ष थारुले बताए ।

मृतकको शव भारतीय प्रहरीसँगको समन्वयमा आज बिहान २ बजे नेपाल ल्याइएको ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक माधव रिजालले जानकारी दिए ।

उनका अनुसार मृतक चार जना नेपालीमध्ये एक जनाको अझै पहिचान हुन सकेको छैन । मृतक प्रेम र शीतलको आजनै दाहसंस्कार गरिएकोछ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतवार १८:०८