प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरुले देशभरबाट आफ्नो उम्मेदवार सिफारिस थालेका छन् । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले पनि देशभरबाट उम्मेदवारहरुको नाम केन्द्रमा मागेको छ ।
यही मेसोमा प्रधानमन्त्री पत्नीसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य डा.आरजु राणा देउवा विभिन्न पाँच क्षेत्रबाट सिफारिसमा परेकी छिन् । उनी बाँके बार्दियादेखि वाग्लुङबाट प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिकका लागि सिफारिस भएकी हुन् ।
आरजुको निर्वाचन क्षेत्र कैलाली क्षेत्र नं.५ हो । यहीबाट उनी गत निर्वाचनमा नारदमुनि रानासँग पराजित भएकी थिइन् । उक्त निर्वाचनमा रानाले २७ हजार २०२ मत प्राप्त गर्दा भने आरजुले २२ हजार ३२२ मत प्राप्त गरेकी थिइन् ।
यही क्षेत्रबाट पहिलो पटक आरजुको नाम सर्वसम्मत सिफारिस भएको थियो । त्यसपछि आरजुको नाम डडेल्धुराबाट समानुपातिकमा सिफारिस भयो । यही क्षेत्रबाट प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा प्रत्यक्षमा सिफारिसमा परेका छन् ।
गृह जिल्ला डडेल्धुरापछि आरजु बाँके क्षेत्र नं.३ र बर्दिया क्षेत्र नं.२ बाट प्रत्यक्षका लागि सिफारिसमा परिन् । शनिवारमात्र नेपाली कांग्रेस बागलुङले वाग्लुङ क्षेत्र नं.२ बाट आरजु राणासहित १० जनाको नाम सिफारिस गरेर पठाएको छ ।
कांग्रेस वाग्लुङ क्षेत्र नं.२ ले आरजुसहित नेपाली कांग्रेसका जिल्ला सभापति जीत शेरचन, गणेश शेरचन, टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, नरबहादुर पुन निरज, रामप्रसाद आचार्य, डा शान्तराज आचार्य र सिंहबहादुर राणाको नाम सिफारिस गरिएको बागलुङ क्षेत्र नं.२ का क्षेत्रीय सभापति जोकलाल बुढाले जानकारी दिए ।
प्रधानमन्त्री पत्नीसमेत रहेकाले पार्टीमा आरजु मोह बढेको कांग्रेस नेता कार्यकर्ता बताउँछन् । आरजुअघि कांग्रेसका महामन्त्री गगन थापा पनि कास्की क्षेत्र नं.१ बाट सिफारिसमा परेका थिए । महामन्त्री थापाले भने आफू काठमाडौं क्षेत्र नं.४ बाटै निर्वाचन लड्ने बताइसकेका छन् । थापा काठमाडौं क्षेत्र नं.४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।
सत्यपाटी । काठमाडौं ।