सूचनाको शक्ति - The Power Of Information

        

देशका धेरै स्थानमा वर्षाको सम्भावना

फाइल तस्वीर

देशका केही स्थानमा अहिले (आइतबार बिहान ६ बजे) वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर–१, मधेस प्रदेश, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली छ ।

बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली छ । वाग्मतीका थोरै र अरू प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१, मधेस, वाग्मती र सुदूरपश्चिम प्रदेशका केही तथा अरू प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश–१ का एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति प्रदेश–१, मधेस, वाग्मती, गण्डकी प्रदेश र लुम्बिनीमा सामान्य बदली तथा अरू प्रदेशमा आंशिक बदली रहनेछ ।

प्रदेश–१, मधेस र गण्डकीका थोरै तथा अरू प्रदेशका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतवार ०८:२३