सूचनाको शक्ति - The Power Of Information

        

जर्मनीको निर्यातमा ह्रास, आर्थिक मन्दीको त्रास

जर्मनीको निर्यात चार महिनामा पहिलो पटक जुलाईमा घटेको शुक्रबार प्रकाशित सरकारी तथ्यांकले देखाएको छ ।

संघीय तथ्यांक एजेन्सी (डेस्टाटिस)को मौसमी समायोजित तथ्यांकअनुसार जर्मनीले अगष्टमा १ खर्ब ३१ अर्ब ३० करोड युरो बराबरको सामान निर्यात गरेको छ । यो जूनको तुलनामा २.१ प्रतिशतले कम हो ।

यो सूचक गत वर्षको जुलाईको तुलनामा १४.३ प्रतिशतले बढी हो भने जर्मनीको व्यापार सन्तुलन ५.४ अर्ब युरोमा सकारात्मक रहेको छ । मुद्रास्फीति बढ्दै जाँदा र युक्रेनमा रूसको आक्रमणको असर पर्दा मुलुकको निर्यातमा आधारित व्यवसाय कमजोर बन्दै गएका छन् ।

जर्मनीको इफो इन्स्टिच्युटले हालै देश ‘मन्दीको सँघारमा’ पर्नसक्ने चेतावनी दिएको थियो । ‘विश्वव्यापी आपूर्ति शृङ्खलामा चाप, भूराजनीतिक जोखिम र बढ्दो उत्पादन लागत यस नयाँ प्रवृत्तिको पछाडिका स्पष्ट संवाहकहरू हुन्,’ आइएनजी बैंकका म्याक्रो कार्स्टेन ब्रेजेस्कीले भने ।

युक्रेनमा आक्रमण गरेदेखि नै प्रतिबन्धको चपेटामा परेको रूसमा जर्मनीको निर्यात जुलाईमा १५.१ प्रतिशतले घटेर १ अर्ब युरोमा झरेको छ । यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा ५५.१ प्रतिशतले कम हो ।

जर्मनीको सबैभन्दा ठूलो निर्यात हुने मुलुक अमेरिकामा निर्यात १३.७ प्रतिशतले घटेर १२.३ अर्ब युरोमा झरेको छ भने चीन र बेलायततर्फको निर्यातमा पनि गिरावट आएको छ । जर्मनीको अर्थतन्त्र अप्रिल र जुनको बीचमा स्थिर रहेको र शून्य प्रतिशतको वृद्धि दर हासिल गरेको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार १४:४४