सूचनाको शक्ति - The Power Of Information

        

अव्यस्थित ई–रिक्सा पार्किङ्गले कुरुप बन्दै वीरगन्ज

पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा पार्किङ्गका लागि उचित स्थान नहुँदा मुख्य बजारका सडकमा जथाभावी ई–रिक्सा लगायत सवारी साधान पार्किङ्ग हुने गरेका छन् ।

अस्तव्यस्त पार्किङ्गले बजार निकै कुरुप बन्दै गएको छ भने दुर्घटनाका जोखिम पनि बढ्दै गएको छ । पर्सा जिल्लाका प्रमुख शहर तथा नेपालकै प्रमुख आर्थिक नगरीका रुपमा चिनिएको विरगंज महानगरपालिकाको ठाउँठाउँमा अझै पनि व्यवस्थीत पार्किङ्ग छैन ।

वीरगन्ज महानगरपालिकाको घण्टाघरदेखि पूर्वपटी रेलवे रोड र घण्टाघर उत्तरपट्टी बीच सडकमा जथाभावि ई–रिक्सा पार्किङ्गले बाटो नै अवरूद्ध हुने गरेको छ । ई–रिक्सा चालकहरुले बाटोमै ई–रिक्सा पार्किङ्ग गरी ग्राहक कुर्ने गरेका छन् ।

त्यही घण्टाघर नजिक रहेको ट्राफिक प्रहरी बिट र जनपत प्रहरी बिट मौन बस्ने गरेका छन् । प्रहरी बिट अगाडी अव्यस्थित पार्किङ्गले बाटो अवरुद्ध हुन्छ, तर प्रहरीहरु मुकदर्शक भएर देख्छन् ।

अहिले पनि सडकमै जथाभावि सवारी साधन रोकेर सडकलाई पार्किङ्गस्थलको रुपमा प्रयोग गर्ने गरिएको छ । अहिले पार्किङ्ग वीरगन्ज महानगरपालिकाको मुख्य चुनौती बन्दै गएको छ । अहिले पार्किङ्ग समस्याले बाटो हिडने बटुवा देखि वीरगन्ज छिर्ने सवारी साधनहरुलाई समेत समस्या र सास्तीमा पर्दै आएको छ ।

स्थानीय तहको चुनावताका निकै उठाइएको स्मार्ट सिटी सपना वीरगन्ज महानगरपालिकामा पार्किङ्गका कारण चुनौती बन्दै गएको छ । अव्यवस्थित पार्किङ्गले अहिले बजारको सुन्दरतामा नै ह्रास आएको छ ।

बजारमा व्यवस्थीत पार्किङ्गका लागि गन्न सकिने ठाउँ मात्र छ । तर त्यस ठाँउमा पनि पार्किङ्ग व्यवस्थित भएको देखिँदैन । यो समस्या समाधान गर्न लागि त्यति चासो दिएको देखिएको छैन । वीरगञ्ज क्षेत्रमा बढिरहेका सवारीसाधनलाई व्यवस्थित गर्न सम्बन्धित निकाय मौन छ ।

अव्यवस्थित सवारी साधन र पार्किङ्गको कुरामा विरगंज महानगरपालिका र ट्राफिक प्रहरी गम्भीर देखिदैन । बढ्दो सवारी साधनको चापले निम्त्याउने सवारी दुर्घटनालाई कम गर्न सम्वन्धित वीरगञ्ज महानगरपालिका र ट्राफिक प्रहरीको विशेष भूमिका आवश्यक छ ।

अब्यवस्तिथत पार्किङ्गले सवारी दुर्घटना बढने मात्रै हैन सडकपेटीमा हिँडडुल गर्ने अधिकांस व्यक्तिहरुलाई सास्ती छ । व्यस्त सडकका छेउमा पार्किङ्ग गरीएका सवारी साधनको मारमा दिन प्रतिदिन जनता परिरहेका छन् ।

महानगरपालिकाले प्रभावकारी रुपमा सवारीसाधन पार्किङ्गको व्यवस्था नगर्दा आफुहरुले सडकपेटीको छेउमा पार्किङ गर्न बाध्य भएको सवारी चालकहरुको भनाई छ । वीरगंजमा जथाभावि रुपमा पार्किङ्ग गरेका ई–रिक्सा लगायत सवारी साधनका कारणले आफुहरुलाई सडकमा आवतजावतमा समस्या हुने गरेको एक जना बटुवाले बताए ।

सडकमा हिँड्दा ई–रिक्साको बिचबाट हिँडनुपर्ने बाध्यताले हैरान पारेको सुनाए । दिन प्रतिदिन बढ्दो सवारी साधनको चापले आफुहरु दुर्घटनामा पर्ने चिन्ता हुने गरेको उनीहरुको गुनासो छ । अव्यवस्थीत पार्किङ्गका कारण आवात–जावात गर्ने पैदलयात्रुलाई समेत समस्या बनाएको छ ।

त्यस्तै सडकमा गुड्ने सवारीसाधनलाई समेत अवरोध सृजना हुने गरको छ । जथाभावि गरिएको ई–रिक्सा पार्किङ्ग गरेबापत जिल्ला ट्राफिक कार्यालय पर्सा र वीरगन्ज महानगरपालिकाले दैनिक नजराना बुझ्ने गरेको एक जना ई–रिक्सा चालकले बताए ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार १०:२८