सूचनाको शक्ति - The Power Of Information

        

चामल किन्न सीडीओको सिफारिस !

फाइल तस्वीर

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले खाद्यान्न बिक्री बन्द गरेको छ । पर्याप्त खाद्यान्न नभएको भन्दै कम्पनीले बिक्री बन्द गरेको हो । कम्पनीले अति आवश्यक काममा प्रमुख जिल्ला अधिकारीको सिफारिसबाट बिक्री गर्ने बताएको छ ।

निमित्त शाखा प्रमुख नवीनप्रसाद आचार्यले अर्को सूचना नभएसम्मका लागि खाद्यान्न बिक्री स्थगित गरेको बताए । जिल्लाभरि रहेका डिपो र बिक्री केन्द्रमा चामल सकिएको र सिमकोट शाखामा मौज्दात कम भएपछि जिल्लाभरि बिक्री बन्द गरिएको हो । ठेकेदारले सबै चामल ढुवानी नगर्दा चामल खाद्यान्न आपूर्तिमा समस्य देखिएको छ ।

सिमकोट डिपोमा लागि गत आर्थिक वर्षको चार हजार र ढुवानी हुनु बाँकी ६०० क्विन्टल पर्ने चार हजार ५०० सय क्विन्टल चामल समयमा ढुवानी नहुँदा समस्या आएको आचार्यले बताए । चालु आर्थिक वर्षमा कम्पनीको सिमकोट शाखाका लागि स्थलमार्गबाट ४ हजार र हवाइमार्गबाट १० हजार क्विन्टल गरी १४ हजार क्विन्टल स्वीकृत भएको छ । जिल्लाका ७ वटा गाउँपालिकाका विभिन्न स्थानमा रहेका ९ वटा बिक्री केन्द्र छन् ।

ताँजाकोटको छप्रेला बिक्री केन्द्रका लागि एक हजार, श्रीनगर केन्द्रका लागि २ हजार ५००, देउली बिक्री केन्द्रका लागि ५००, सर्केगाड बिक्री केन्द्रका लागि २ हजार, खार्पुनाथ बिक्री केन्द्रका लागि १ हजार, याल्वाङ केन्द्रका लागि ५०० र लिमि केन्द्रका लागि ५ गरी जिल्लामा लागि २० हजार ५०० क्विन्टल चामल स्वीकृत भई ठेक्का प्रक्रिया अघि बढेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् ।

दसैँ तिहारलगायत अन्य चाडपर्वमा चामलअभाव नहोस् भनेर छिटोभन्दा छिटो चामल ढुवानीको व्यवस्था मिलाउन कम्पनीलाई निर्देशन दिएको उनले बताइन् । अघिल्लो वर्षको ढुवानी हुन बाँकी चार हजार ६०० क्विन्टल चामलमध्ये ६०० क्विन्टल समिट एयरले असारमै जिम्मा लिएको भए पनि अहिलेसम्म ढुवानी गरेको छैन । गत वर्ष नेपालगन्जबाट दुई हजार र सुर्खेतबाट दुई हजार क्विन्टल चामल थप भएको भए पनि नेपालगन्जबाट एक–एक हजार र सुर्खेतबाट एक–एक हजार गरी दुई–दुई हजार क्विन्टल चामल ढुवानी गर्ने जिम्मा समिट एयर र सीता एयरलाई दिइएको थियो ।

चालू आर्थिक वर्षमा सीता एयरले नेपालगन्जबाट एक हजार क्विन्टल ढुवानी जिम्मा लिएर १०० क्विन्टल मात्र ढुवानी गरेका र बाँकी ९०० सय नेपालगन्जबाट र एक हजार सुर्खेतबाट गरी एक हजार ९०० क्विन्टल र समिट एयरले पुरानो, ६०० नेपालगन्जबाट एक हजार र सुर्खेतबाट एक हजार गरी २ हजार ६०० क्विन्टल चामल अहिलेसम्म ढुवानी नहुँदा यो समस्या आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले जनाएको छ ।

एयरलायन्सले वर्षाका कारण समयमा ढुवानी गर्न नसकेको र हिमाली जिल्ला भएकाले बिहान मौसम नखुल्ने र दिउँसो हावा चल्ने भएकाले ढुवानीमा समस्या भएको बताएका छन् । मौसम खुल्ने बित्तिकै ढुवानीको काम सुरु गर्ने उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार ०९:२८