विमानस्थलको स्तरवृद्वि गर्ने लक्ष्यअनुसार तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण हुने भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालगन्ज, भरतपुर र विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।
नेपालगन्जको टर्मिनल भवन बनाउन तीन अर्ब ५० करोड, विराटनगरको तीन अर्ब ५४ करोड र भरतपुर विमानस्थलको टर्मिनल भवन बनाउन एक अर्ब ७५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार करिब नौ अर्ब रुपैयाँ लगानीमा निर्माण हुने तीन वटा नयाँ टर्मिनल भवनको काम तीन वर्षभित्र सक्ने गरी योजना प्राधिकरणले बनाएको छ ।
५० वर्षभन्दा पुराना ती विमानस्थलका टर्मिनल भवन साँघुरो, पानी चुहिने, जीर्ण अवस्थामा पुगेकाले सुविधा सम्पन्न टर्मिनल भवन बनाउन लागिएको उनले बताए ।
नेपालगन्ज र विराटनगर विमानस्थलमा हाल रात्रिकालीन उडानसमेत हुँदै आएकाले हवाई उडान र यात्रुको चापका आधारमा उड्डयन सुरक्षा तथा यात्रुको सुविधालाई दृष्टिगत गरी नयाँ टर्मिनल भवन बनाउन लागिएको उनको भनाइ छ ।
उनले भने, ‘नयाँ टर्मिनल भवनमा कन्भेयर बेल्ट, यात्रु प्रतीक्षालय, कन्फेक्सरी सप, पसल क्लब सहितको खुला र फराकिलो भवन निर्माण हुन लागेको हो ।’
त्यसबाहेक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४० अर्ब रुपियाँको लागतमा बन्ने नयाँ टर्मिनल भवन निर्माणका लागि नेपाली सेनासँग छलफल भइरहेको प्रवक्ता निरौलाले बताए ।
हाल विमानस्थलको सुरक्षामा खटिएको नेपाली सेनाको ब्यारेक रहेको क्षेत्रमा नयाँ टर्मिनल भवन बनाउने तयारी अनुसार सेनालाई धावन मार्गको पारिपट्टि सार्नेबारे छलफल भइरहेको उनले बताए ।
यस विमानस्थल प्रयोग गर्ने हवाई यात्रु र विदेशी जहाज सङ्ख्यासमेत बर्सेनि थपिँदै गएपछि चालू आर्थिक वर्षभित्रै नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको तयारी गर्ने प्राधिकरणको तयारी छ । नयाँ टर्मिनल भवन निर्माण कार्य सुरु भएको पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
सत्यपाटी । काठमाडौं ।