सूचनाको शक्ति - The Power Of Information

        

आसन्न निर्वाचन

बाँके-२ बाट कांग्रेसले गर्यो किरणसहित ३ जनाकाे सिफारिस

आसन्न निर्वाचनका लागि बाँकेको प्रतिनिधी सभा-२ बाट नेपाली कांग्रेसले  आफ्ना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

नेपाली काँग्रेसका पुर्बसभापति, पुर्बप्रधानमन्त्री स्वर्गीय सुशील कोइराला चुनाव लड्दै आएको उक्त क्षेत्रमा आउदो चुनाव लड्नका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ताले जानकारी दिए ।

उनका अनुसार प्रत्यक्ष तर्फ निवर्तमान जिल्ला सभापति किरण कोइराला, क्षेत्र नम्बर २ का सचिव सुनिलसिङ हमाल र पुर्बजिल्ला सदस्य तथा तरुण दल बाँकेका अध्यक्ष बिरेन्द्रबहादुर शाहको नाम सिफारिस गरिएको हो ।

यस्तै सोही क्षेत्रबाट समानुपातिक तर्फ पार्टीका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, पुर्बमन्त्री गजेन्द्र हमाल, संविधान सभाका सदस्य अब्दुल हमिद सिद्दिकी ‘भोला’, कमला भट्ट, बन्दना सिंह, त्रिलोकी गिरी लगायत नेताको नाम सिफारिस गरिएको सभापति गुप्ताले बताए ।

काँग्रेसले बाँकेका अन्य प्रतिनिधि सभा क्षेत्र र प्रदेश सभाका लागि सम्भावित उम्मेदवारको नाम यसअघि नै सिफारिस गरिसकेको छ ।

क्षेत्र नम्बर २ का लागि सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले वर्तमान सांसद एवं भौतिक पुर्बाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईको एकल नाम सिफारिस गरिसकेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार १८:०४