जुम्लामा यसवर्ष स्याउ उत्पादन बढ्ने अनुमान गरिएको छ । कृषि विकास कार्यालयले गतवर्षको तुलनामा यसवर्ष स्याउको आम्दानी बढ्ने जनाएको छ ।
गतवर्ष १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जुम्लामा यसवर्ष झन्डै १८ हजार मेट्रिकटन स्याउ उत्पादन हुने आंकलन गरेको कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश अधिकारीले बताए ।
उनले भने, ‘स्याउ निर्यातबाट जुम्लामा झन्डै ५० करोड बढी आम्दानी हुन भएको छ ।’ जुम्लाको आर्थिक समृद्धिसँग जोडिएको स्याउ खेतीको विस्तार र उत्पादन वृद्धिले पछिल्लो समय जुम्ली किसानको दिनचर्या फेरिन थालेको छ ।
गतवर्ष १० क्विन्टल स्याउ फलाएका गुठिचौर गाउँपालिका–५ का किसान देवीकृष्ण धितालले यसवर्ष भने १८ क्विन्टल उत्पादन गरेका छन् । स्याउ खेतीबाटै मनग्य आम्दानी हुने सम्भावना रहेकाले रोजगारी खोज्न कालापहाड जानुपर्ने अवस्था नरहेको धिताल बताउँछन् ।
‘आयातितभन्दा जुम्लाको स्याउ निकै स्वादिष्ट छ । तर व्यवस्थापकीय कमजोरीले बजारीकरणमा समस्या छ,’ उनले भने । ग्रेडिङ लेवलिङ प्याकेजिङजस्ता कुरामा सरकारी तवरबाट ध्यान पुर्याउन जरुरी रहेको जुम्लाका वरिष्ठ किसान रामकृष्ण बुढ्थापाले बताए ।
उनले भने, ‘जुम्ली स्याउ स्वादिष्ट हुँदाहुँँदै पनि मूल्य पाउन सकेको छैन । कोल्ड स्टोर निर्माण, मूल्य निर्धारण र बजारीकरण लगायतको व्यवस्थापकीय पाटोमा राज्यले ध्यान दिनुपर्ने आवश्यक छ ।’
जुम्लामा चार हजार १२० हेक्टर क्षेत्रफलमा स्याउखेती हुँदा २९ सय हेक्टर क्षेत्रफलमा १८ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान रहेको कृषि विकास कार्यालय जुम्लाका निमिक्त प्रमुख गणेश अधिकारीले बताए ।
उनले भने, ‘जसबाट करिब ५० करोड आर्थिक भित्रिने आंकलन छ ।’ उनका अनुसर पालिकामध्ये सबैभन्दा बढी चार हजार मेट्रिक टन गुठिचौरमा फलेको छ । समयमै पानी पर्दा र हावापानी अनुकूल हुँदा गतवर्षभन्दा यस वर्ष स्याउ उत्पादन बढेको हो ।
यसवर्षको स्याउको बजार प्रवर्द्धनका लागि जुम्ला एप्पल लेखेको कार्टुन ५० प्रतिशत अनुदानमा वितरणका लागि १५ हजार खरिद गरिएकोमा १२ हजार वितरण भइसकेको निमित्त प्रमुख अधिकारीले बताए ।
सत्यपाटी । जुम्ला ।