नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीभित्र चर्को गुटबन्दीका कारण समस्या आएको बताएका छन् । उनले गुटबन्दीकै कारण माओवादी चुनावमा पछि परेको बताए ।
आज सुर्खेतमा कर्णाली प्रदेशका १० जिल्लाबाट आएका पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनमा प्राप्त मतपरिणामबारे बोल्दै पार्टीका उम्मेदवारले जति मत ल्याए त्यसबारे सन्तुष्ट हुन नसकिने बताए ।
कर्णालीभन्दा अन्य प्रदेशमा बढी गुटबन्दी भएको भन्दै उनले पार्टी निर्माणका लागि सबैले गुटगत मानसिकता त्याग्नुपर्ने बताए । अन्य प्रदेशमा गुटका कारण बोलचाल समेत बन्द भएको भन्दै उनले माओवादी साँच्चिकै जनताको पार्टी बन्ने हो भने सच्चिनुपर्ने बताए ।
पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘१७५ दाबी गरेका थियौं तर १२५ मा सीमित रह्यौँ । विगतमा जितेका पालिका पनि गुमाएका छौं । ५० भन्दा बढी पालिका हार्यौं । पार्टीभित्रका व्यक्तिवादी र स्वार्थी मान्छेहरुका कारण हार व्यहोर्नुपर्यो ।’
माओवादी अध्यक्ष प्रचण्डले कार्यकर्ताका कारण नभई नेताहरुका कारण निर्वाचन हारिएको समेत बताए । पार्टीभित्र धेरै स्वार्थी गुट रहेको बताउँदै उनले नेताहरु आफैं प्रचण्ड बन्न खोजेका कारण निर्वाचन हारिएको बताए ।
उनले भने, ‘प्रचण्डको नेतृत्वमा माÞओवादी एउटै छ, तर भित्रभित्र स्वार्थी गुट छ । म त कर्णालीमा पनि गुटैगुट देख्छु । भन्ने बेलामा पार्टीको मुख्य नेता प्रचण्ड भन्ने तर व्यवहारमा ‘मै हुँ प्रचण्ड’ भन्ने स्थितिका कारण निवार्चनमा हारियो ।’ उनले कर्णालीका नेता कार्यकर्तालाई पनि गुटबन्दी रोक्न आग्रह गरे ।
स्वार्थ समूह र गुटबन्दी नत्यागेसम्म पार्टी निर्माण गर्न नसकिने उनको भनाइ छ । उम्मेदवार छनोट गर्दा जनजाति, दलित र पछाडि पारिएका समुदायका व्यक्तिलाई प्राथमिकता दिनुपर्ने बताए । स्थानीय तहको चुनावमा आफूले गरेको स्कुल कार्यान्वन नभएको भन्दै प्रचण्डले अब त्यस्तो नगर्न सुझाव समेत दिए ।
सत्यपाटी । सुर्खेत ।