सूचनाको शक्ति - The Power Of Information

        

तटबन्धको जालीमा भ्रष्टाचार, ६ जनाविरुद्ध मुद्दा

भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन प्रमुख शेरबहादुर श्रेष्ठसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा लागेको छ ।

तटबन्ध निर्माणका लागि आएको तारको जाली बिक्री गरी रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन प्रमुख श्रेष्ठ, सब–इन्जिनियर दानबहादुर बुढ्थापा, सोरु गाउँपालिका–४ का तत्कालीन वडाध्यक्ष डबले शाही, दैरीखोला रावलवाडा तटबन्धन आयोजना उपभोक्ता समितिका अध्यक्ष हस्तविर दमाई, सचिव लोकजंग दमाइ र कोषाध्यक्ष भिमलाल दमाइको मिलेमतोमा भ्रष्टाचार भएको आरोप छ ।

उनीहरुले आयोजनाका १८ लाख १० हजार ८४ रूपैयाँ हिनामिना गरेको पुष्टि अख्तियारले गरेको छ । प्रतिवादीहरूबाट हिनामिना भएको रकम असुल गरी कैद तथा जरिवानाको सजाय माग गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार १५:०४