सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

सिट बाँडफाँटमा गठबन्धनभित्र ‘सकस’

सिटका लागि विभिन्न मोडालिटी तयार गरेको भए पनि त्यसलाई टुंगोमा पुर्याएर सकेका छैनन् ।

आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेर सिट बाँडफाँटमा जुटेका सत्ता गठबन्धनका दलहरू ‘सकस’मा परेका छन् ।

गठबन्धन सरकारले मंसिर ४ गते निर्वाचन घोषणा गरेलगत्तै गठबन्धन गरेर चुनावमा जाने निर्णय गरेका उनीहरूले तालमेलको मोडालिटी बनाउनका लागि कार्यदल नै बनाएका छन् ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले विभिन्न चरणमा छलफल गरेको भए पनि सिट बाँडफाँटलाई टुंगोमा पुर्याउन सकेको छैन ।

सिटका लागि विभिन्न मोडालिटी तयार गरेको भए पनि त्यसलाई टुंगोमा पुर्याएर सकेका छैनन् । चाँडै सिट बाँडफाँट टुंगोमा पुर्याएर चुनावमा होमिनुपर्ने भए पनि कुरा मिल्न नसक्दा सत्ता गठबन्धन सकसमा परेको छ ।

बिहीबार बिहानदेखि राति १० बजेसम्म शीर्ष दलका नेताहरूले प्रधानमन्त्रीको सरकारी निवासमा छलफल गरे पनि सहमति जुट्न सकेको छैन ।

नेपाली कांग्रेसले १०० सिटलाई बटमलाईन बनाएको छ भने माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको आ–आफ्नो दाबी सिट संख्यामा हुँदा कुरा मिल्न सकेको छैन ।

वैशाखमा सम्पन्न स्थानी तह चुनावमा प्राप्त मत र क्षत्रगत रुपमा दलको प्रभाव हेरेर सिट बाँडफाँट गर्नुपर्ने र कांग्रेले धेरै छाड्दा गठबन्धनलाई घाटा हुने तर्क कांग्रेसको रहेको छ ।

बिहीबार दिनभर बसेको गठबन्धनको बैठकले दुई दिनभित्रमा सिट बाँडफाँट सक्ने सहमति जुटाएको छ । बैठकले आगामी दुई दिनभित्र न्यायोचित रुपमा सिट बाँडफाँट गर्ने सहमति जुटाएको सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

न्यायोचित रुपमा सिट बाँडफाँट गर्ने र निर्वाचन जित्नेभन्दा देशलाई मिलेर अघि बढाउने विषयमा छलफल भएको उनको दाबी छ । यसमा सबै दल सहमत रहेकाले दुई दिनमा टुंगोमा पुग्ने उनको दाबी छ ।

उनका अनुसार गठबन्धनलाई निर्वाचनपछि पनि निरन्तरता दिने र यसका लागि सबैलाई न्यायपूर्ण रुपमा सिट दिने गरी छलफल भएको छ । तर, उनले भनेजस्तो सहज अवस्था भन गठबन्धनमा देखिएको छैन ।

दुई दिनको समयमा दलहरूले आन्तरिक छलफल गरेर टुंगोमा पुग्ने नेताहरूको दाबी छ । तर कांग्रेसका एक नेताका अनुसार दुई दिनभित्र टुंगो लाग्ने सम्भावना न्यून रहेको छ ।

‘कांग्रेसको अवस्था अन्य दलभन्दा निकै बलियो छ । यस हिसाबले कांग्रेसले धेरै छाडेर अरुलाई धेरै दिन सक्ने कुरा हुँदैन । फाइदा नहुने भए अरु पनि किन गर्ने भन्ने होलान्,’ उनले भने, ‘त्यसले स्थानीय चुनावजस्तै अन्तिमतिर टुंगो लाग्ने होला !’

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार १३:३९