डेंगीको संक्रमण ७२ जिल्लामा फैलिएको पुष्टि भएको छ । अझै दुई महिना डेंगीको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । गएका वर्षहरुमा पनि असोज र कात्तिक महिनामा डेंगीको संक्रमण धेरै बढेको पाइएको थियो ।
यसपालि असोज महिना नलाग्दै डेंगीको संक्रमण फैलिरहेको छ । बेलैमा सचेत नभएमा आउँदो दुई महिना जोखिम झन् बढ्न सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तरगतको कीटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताए ।
उनका अनुसार अहिलेसम्म ३ हजार २२७ जनामा डेंगी पुष्टि भएको छ । जिल्ला जिल्लाबाट नयाँ तथ्याङ्क आएकाले यो संख्या अझै बढ्ने उनले बताए । सबैभन्दा धेरै वाग्मती प्रदेशमा डेंगी फैलिएको छ । यो प्रदेशका २ हजार १०८ जनालाई डेंगी भएको छ ।
यस्तै, लुम्बिनी प्रदेशमा ४७२, प्रदेश १ मा १९८, गण्डकी प्रदेशमा ८४, सुदूरपश्चिममा ७७, मधेस प्रदेशमा ५९ र कर्णाली प्रदेशमा २९ जनामा डेंगी देखिएको सरकारी तथ्याङ्क छ । तथ्याङ अनुसार १० जिल्लामा जोखिम धेरै छ । वाग्मती प्रदेशको ललितपुर जिल्लमा सबै धेरै संक्रमण फैलिएको छ ।
अहिलेसम्म ललितपुरका एक हजार १८० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै काठमाडौंमा ५६५, रुपन्देहीमा ३९२, भक्तपुरमा ८९, तेह्रथुम र धादिङमा ७८, सिन्धुलीमा ६३, संखुवासभा ५७, गुल्मी ५२ र अर्घाखाँचीमा ५१ जनामा संक्रमण पुष्टि भएको छ ।
समुदायमा डेंगी फैलिरहेकाले घर परिवार र समुदाय सचेत हुनुपर्नेमा कीटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालको जोड छ । लामखुट्टेले फुल पार्ने र लार्भा हुर्कने वातावरण नबनाउन उनको आग्रह छ ।
घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका लुगा लगाउन, बाल्टी, बाटा, ड्रम लगायत भाँडोमा लामोसम्म पानी जम्मा गरेर नराख्न उनको सुझाव छ । यस्तै, कोठामा सजाएर राखिएका फूलदानीमा पनि डेंगी सार्ने लामखुट्टेले फूल पार्ने हुँदा बेला बेला पानी फाल्न र सफा गरिरहन उनको आग्रह छ ।
यस्तै, गाडीका टायरमा जमेको पानीमा पनि लमखुट्टेले फूल पार्ने हुँदा जमेको पानी हटाउन सुझाव दिइएको छ । लामखुट्टे नियन्त्रण नै डेंगी रोकथाको मुख्य उपाय हो । ज्वरो आउँदा र जिउ दुख्नासाथ धेरैले जथाभाबी औषधि खाने गरेकाले त्यसो नगर्न पनि कीटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालको आग्रह छ ।
डेंगी भएका बेला दुखाइ कम गर्नका लागि खाइने बुफ्रिन लगायतका औषधिले स्वास्थ्यमा झनै असर पर्ने भएकाले स्वास्थ्यकर्मी र डाक्टरको सल्लाहमा मात्रै औषधि खान उनको सुझाव छ ।
सत्यपाटी । काठमाडौं ।