सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका प्रजिअलाई नरैनापुर गाउँपालिकाको ‘माग पत्र’

सिँचाइको अभावमा खडेरी परेको नरैनापुरका किसानलाई डिप बोरिङ र राहत उपलब्ध गराउन माग गर्दै नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले आज बिहिबार बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई पत्र हस्तान्त्रण गरेका छन् ।

नरैनापुर गाउँपालिकाको सर्वदलिय बैठकले किसानलाई राहत दिन प्रदेश र संघीय सरकारसँग माग गर्ने निर्णय गरेपछि गाँउपालिकाले उक्त निर्णयलाई मागपत्र सँगै राखेर प्रमुख जिल्ला अधिकारीलाई बुझाएको नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी खत्रीलाई पत्र हस्तान्त्रण गर्दै अध्यक्ष शाहले भने, ‘गत वर्षको बेमौसमी बर्षाका कारण खेतमा किसानले लगाएको धानबाली नष्ट भएको पीडा सेलाउन नपाउँदै यस वर्ष समयमा वर्षात नहुँदा धानको बिउ खेतमा नै सुकेर नष्ट भयो ।’

उनले गाउँपालिकामा सिँचाइको व्यवस्था नहुँदा ९० प्रतिशत खेत बाँझो रहेको बताए । नरैनापुर गाउँपालिकाभित्र ९० प्रतिशत खेत बाँझो भएपछि पालिकालाई सुख्खा ग्रस्त क्षेत्र घोषण गरिएको अध्यक्ष शाहले बताए ।

नरैनापुरका किसानलाई राहत दिन माग गर्दै गाँउपालिका अध्यक्ष शाहसँगै नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एंव लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी ‘नमूना’ पनि जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन् ।

उनले गृह र कृषि मन्त्रालयलाई राहतको व्यवस्थापनका लागि पत्रचार गरीदिन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरेकी थिइन् । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले आइतबार विपत व्यवस्थापन समितिको बैठकबाट निर्णय गराएर राहतका लागि केन्द्र सरकारलाई पत्रचार गर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी खत्रीले पानी नभएर आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि आफूले माथिल्लो निकायमा पहल थाल्ने बताए । प्रदेश र संघीय सरकारका मन्त्रीहरुलाई नरैनापुरको अवस्थाका विषयमा जानकारी गराए पनि कुनै पहल नभएको नरैनापुरवासीको गुनासो छ ।

नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरेपछि राहतका लागि प्रदेश र संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री, यूवा तथा खेलकुद मन्त्री र अर्थ मन्त्रीलाई जानकारी गराए पनि कुनै ढोस निर्णय हुन नसकेपछि अर्थमन्त्रीको सुझावमा प्रमुख जिल्ला अधिकारीलाई राहतका लागि पहल गरिदिन पत्र दिएको गाँउपालिका अध्यक्ष शाहको भनाई थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार १७:५३