सूचनाको शक्ति - The Power Of Information

        

अर्थ–विकास

आइसीपी निर्माण अन्तिम चरणमा

क्वारेन्टाइन, सुरक्षा जाँच पोस्ट, पार्किङ स्थल लगायत भौतिक संरचनाको काम ८० प्रतिशत सम्पन्न भइसकेका छन् ।

फाइल तस्वीर

नेपालगन्ज र भारतमा निर्माण भइरहेको इन्ट्रिगेट चेक पोस्ट (आइसीपी)को कामले तीव्रता पाएको छ । भारतीय सरकारको २०० करोड भारतीय रुपैयाँ आर्थिक सहयोगमा आइसीपी निर्माण हुन लागेको हो ।

निर्माण कम्पनीले आगामी माघसम्म काम सक्ने दाबी गरेको छ । हालसम्म क्वारेन्टाइन, सुरक्षा जाँच पोस्ट, पार्किङ स्थललगायत भौतिक संरचनाको काम ८० प्रतिशत भइसकेको छ । भण्डारणका लागि फलामको ट्रसका लागि आवश्यक पर्ने सामग्रीहरू निर्माण भइरहेका छन् ।

संघीय आयोजना कार्यान्वयन इकाइ नेपालगन्जका इन्जिनियर सुदीप झाका अनुसार निर्माण कम्पनीले माघसम्म काम सक्ने प्रतिबद्धता जनाएको छ । ‘भौतिक संरचनाका कामहरू ८० प्रतिशत भइसकेका छन् । यसरी नै कामले निरन्तरता पाउने हो भने तोकिएको समयमै निर्माण सम्पन्न हुने देखिन्छ,’ उनले भने, ‘आइसीपीको काम रातदिन भइरहेको छ ।’

यसअघि निर्माण कम्पनीले कोरोना संक्रमणको कारण देखाउँदै तोकिएको समयमा काम सम्पन्न गर्न नसक्ने भन्दै भारत सरकारबाट म्याद थपेको थियो । आइसीपी निर्माणको काम भारतीय कम्पनी राज विक बिल्डन्सन प्रालिले पाएको छ । उसले दुई वर्षभित्रै काम सम्पन्न गर्ने सम्झौता गरेको छ ।

निर्माण कम्पनीले भने पछिल्लो समय सन् २०२३ जनवरी २२ सम्म निर्माण गर्ने समयावधि पाएको छ । निर्माण कम्पनीले सडक, भौतिक संरचना लगायतका काम गरिरहेको छ । ट्रस निर्माणका लागि आवश्यक पर्ने सामग्रीहरू दिल्लीमा बनिरहेको र तीन–चार महिनामा नेपालगन्ज ल्याएर जडान गर्ने लक्ष्य राखिएको छ ।

आइसीपीलाई जोड्न निर्माण कम्पनीले पहुँच मार्ग निर्माण गरी कालोपत्र गरिसकेको छ । आइसीपी निर्माणका लागि नेपाल सरकारले स्थानीयलाई मुआब्जा दिएर जयसपुर क्षेत्रमा ९० बिघा जग्गा अधिग्रहण गरी निर्माणको काम सुरु गरेको हो । त्यस्तै भारत सरकारले पनि आफ्नो क्षेत्रमा जग्गा अधिग्रहण भौतिक संरचना निर्माण गरिसकेको छ ।

नेपालतर्फको ९० बिघा जग्गामध्ये २७ बिघामा सडक निर्माण गरिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा आइसीपी कार्यान्वयनका लागि भारतीय पक्षले प्रतिबद्धता जनाएपछि आइसीपीको कामले तीव्रता पाएको हो । यसअघि उक्त आयोजना करिब एक दशकदेखि अलपत्र पर्दै आएको थियो ।

भारतको राजधानी दिल्लीबाट सबैभन्दा नजिक मानिने नेपालको नेपालगन्जमा आइसीपी आवश्यक रहेको भन्दै जयसपुरलाई रोजेको हो । यहाँबाट नेपालमा सहजै आयात हुने र नेपालका जडीबुटी र उत्पादनहरू भारतमा निकासी गर्न पनि सरल हुने जनाइएको छ ।

कार्यान्वयन इकाइका अनुसार आइसीपी निर्माणस्थलदेखि नेपालगन्जको चौलिकासम्मको २ हजार ७०० मिटर पहुँच मार्ग निर्माण गरिएको हो । अन्य भौतिक संरचना निर्माणका लागि भारतको केन्द्रीय सरकारले लगानी गरिरहेको छ ।

 

ठाकुरसिंह थारु/ईकान्तिपुर

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार १०:३९