सूचनाको शक्ति - The Power Of Information

        

अर्थ–ब्लग

यातायात व्यवसायी र हवाई कम्पनीको मनोमानी कतिन्जेल ?

दशैंको समयमा प्लेन तथा हेलिप्कटर दुर्घटनामा परेर कुनै पनि नेपाली नागरिक मर्न नपरोस् र सवारीसाधन भिरबाट खसेर पनि कुनै नागरिकले ज्यान गुमाउन नपरोस् ।

दशैं आउन अब एक महिना पनि छैन । कति मानिसहरु प्लेनमा आफनो घर जानका लागि अहिलेबाट नै प्लेन टिकटको खोजीमा भौतारेर हिँडिरहेका छन् । प्लेन व्यवसायीहरु पनि यातायात व्यवसाय जसरी महंगोमा टिकट बिक्री वितरण गर्ने वा टिकट छैन भनेर भन्ने गर्छन् । सरकारले निर्धारण गरेको भाडा रेटभन्दा धेरै पैसा दिएमा मात्र उनीहरु प्लेनको टिकट व्यवस्थापन गरिदिन्छन् । यता जनता सरकारले तोकेको रेटमा प्लेनबाट घर जान पनि पाउँदैनन् र महंगो भाडाको मारमा पर्छन् । पर्यटन, संस्कृति तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठ र नेपाल नागरिक पर्यटन उडड्यन प्राधिकरण पनि यसप्रति कुनै अनुगमन गर्दैन ।

सरकारले एक वर्षमा ५ पटक यात्रुले प्लेन व्यवसायीलाई तिर्नुपर्ने भाडा बढाउने गर्छ । तर सरकारले निर्धारण गरेको भाडादरमा जनताले प्लेनको टिकट काटेर आफ्नो घर जान पाउँदैनन् । साथै प्लेनको टिकट लिनका लागि यात्रुले कि भन्सुन गर्नुपर्छ कि महंगो पैसा तिनुपर्छ । कति बिरामी मानिस र बूढाबुढी आमाबुबाहरु सार्वजनिक सवारीसाधन चढेर आफ्नो घर जान सक्दैनन्, जसले गर्दा उनीहरु महंगो भाडाको मारमा पर्ने गर्छन् । दशैंको समयमा लामो रोडको सवारीसाधनको टिकट नपाइने र टिकट पाइहालेमा पनि महंगो भाडा तिर्नुपर्ने बाध्यता हरेक नेपाली नागरिकको हो । हरेक वर्ष उपत्यकाबाट दशैं मान्नका लागि मात्र २८ लाख मानिसहरु सार्वजनिक सवारीसाधनमा घर जाने गर्छन् भने प्लेनमा पनि त्यति नै मानिसहरु आफ्नो घर जाने गर्छन् ।

अहिले नै घर जानका लागि प्लेनको टिकट नपाएको भनेर धेरै मानिसहरु बताउँछन् ।साथै १५ दिन पछाडिसम्मको टिकट बुकिङ भइसकेको बारे प्लेनमा टिकट काट्ने मानिसहरु पनि भन्छन् । सरकारले अहिले पनि न सार्वजनिक सवारीसाधनको अग्रिम टिकट खोलेको छ न प्लेनको नै खोलेको छ । अहिलेका यातायात मन्त्री मोहम्मद इश्तियाक राई, सचिव गोपालप्रसाद सिग्देल र यातायात व्यवस्था विभागका महानिर्देशक सुरेश राउतले न सानो तथा ठुलो गाडीको अग्रिम टिकट खोल्न चासो दिन्छन् भने पर्यटन, संस्कृति तथा नागरिक उडड्यन मन्त्री श्रेष्ठले पनि प्लेनको अग्रिम टिकट खोल्न कुनै चासो दिएका छैनन् । पछिल्लो समय गुड्नेदेखि उड्नेले दशैंमा जनताहरुलाई महंगो भाडा लिएर ठग्ने गरेका छन् ।

यता हेलिप्कटरले पनि जनतालाई त्यति नै महंगो पैसा लिएर ठगीरहेको पाइन्छ । प्लेन व्यवसायी तथा हेलिप्कटर व्यवसायीसँग पैसा खाएर पर्यटन मन्त्री श्रेष्ठ लम्पसार परिरहेका छन् । उनले यसरी व्यवसायीसँग पैसा खाएकाले यात्रु ठग्ने प्लेन तथा हेलिप्कटर व्यवसायीलाई अनुगमन गरेर कारबाही गरेका छैनन् । अहिले आकाशमा उड्ने प्लेनहरु धेरै पुरानो भइसकेको छ । यसरी पुरानो प्लेनले यात्रु बाकेर आकाशमा उड्दा ती प्लेनहरु दुर्घटना हुने गर्छ र यात्रुहरु पनि मर्ने गर्छन् । पर्यटन मन्त्री श्रेष्ठले यस्ता पुरानो प्लेनहरु चल्न दिँदा र प्लेनको समयावधि नतोक्दा कयौँ जनताहरु मृत्युको मुखमा पुगेका छन् ।

सरकारले भाडाका गाडी २० वर्ष पुगेपछि विस्थापन गर्नेबारे निर्णय गरे पनि अहिलेसम्म सरकारले प्लेनको समयावधि कति वर्षसम्म रहन्छ भनेर निर्णय गरेको छैन । सार्वजनिक सवारीहरु बाटामा गुड्दा त्यसले प्रदूषण हुने र दुर्घटना निम्याउने भनेर सरकार यो निर्णय गरेको हो भनी प्लेनहरु त आकाशमा उड्ने गर्छ । नेपालमा पछिल्लो समय ६० देखि ७० वर्षसम्म पुगेका प्लेनहरु आकाशमा उडिरहेको पाइन्छ । यसरी सरकारले पुरानो प्लेन तथा हेलिप्कटरहरु आकाशमा उड्न दिँदा यिनीहरुको इन्जिन बिग्रिएर वा अवस्था ठिक नभएर वर्षैपिछे दुर्घटनामा परेर सयौं जना मानिसहरुको ज्यान गइरहेको छ । सरकारले प्लेन तथा हेलिप्कटरबाट हुने दुर्घटनाहरु नियन्त्रण गर्नका लागि यीनीहरुको समयावधि पनि तोकेको छैन र पुराना प्लेन तथा हेलिप्कटर पनि चल्न दिइरहेको पाइन्छ ।

अब सरकारले सार्वजनिक यातायात जसरी नै यिनीहरुको पनि २० वर्षसम्मका लागि मात्र समयावधि तोकिदिनुपर्छ । नेपालका प्लेन तथा हेलिप्कटर व्यवसायीहरुले बाहिर देशमा बनेका र उडेर पुराना भएका प्लेन तथा हेलिप्कटर सस्तोमा किनेर नेपाल ल्याउने गर्छन् । अनि त्यही पुराना प्लेन तथा हेलिप्कटर चलाएर जनतालाई ठग्ने र जनतालाई नै मार्ने गर्छन् । यिनीहरुले आफू कमाउनका लागि बिग्रिएका, कबाडी प्लेन तथा हेलिप्कटर चलाएर जनतालाई ठग्दा र मार्दा पनि नेपाल नागरिक उडड्यन प्राधिकरण पुराना प्लेन तथा हेलिप्कटर नचलाउने र यिनीहरुको २० वर्षे अवधि पनि तोक्दैन । अब प्राधिकरण र पर्यटन मन्त्री श्रेष्ठले दुर्घटना तथा जोखिम कम गर्नका लागि पुराना प्लेन तथा हेलिप्कटर हटाउने र यिनीहरुको हदम्याद २० वर्षसम्म मात्र रहने भनेर निर्णय गर्नुपर्छ ।

एउटा प्लेन तथा हेलिप्कटर किन्दा व्यवसायीहरुले अर्बो रुपैयाँ लगानी गरेका हुन्छन् । त्यो लगानी गरेबापत पनि राज्यलाई एक सुको कर तिर्दैनन् र यात्रु बोकेर दिनहुँ कमाएको पैसाको पनि कर तिर्दैनन् । अब नागरिक उडड्यन प्राधिकरणले प्लेन तथा हेलिप्कटरमा लगानी गरेको र दिनहुँ कमाएको नाफाको कर लिनका लागि यी व्यवसायीहरुलाई कम्पनी तथा घरेलुमा दर्ता गराउने र पञ्जीकरण गराउने गर्नुपर्छ । अहिले प्लेन तथा हेलिप्कटर व्यवासायीहरुले न ६–६ महिनाको प्राधिकरण तथा जाँचपास गर्छन् न प्लेन आकाशमा उडेको रकम तिर्ने गर्छन् । प्लेन र हेलिप्कटर व्यवसायीहरुले न नयाँ व्यवसायी आउन दिन्छन् न प्लेन तथा हेलिप्कटरको संख्या नै बढ्न दिन्छन् । यिनीहरुले आकाश कब्जा गर्छन् र जनता ठग्छन् ।

यी व्यवसायीहरुको अगाडी नागरिक उडड्न प्राधिकरण र पर्यटन मन्त्रालय केही पनि गर्न सक्दैन । पछिल्लो समय पुराना प्लेनहरुमा चढ्दा कति यात्रुहरुको मृत्यु हुने गरेको र कति घाइते हुने गरेको कुरा हामीले सुनेका छौँ । यसरी मानिसहरु मर्दा र घाइते गर्दा उनीहरुको आफन्तलाई दिइने क्षतिपूर्ति रकम पनि निकै कम छ र यसलाई अब सरकारले बढाउनुपर्छ । नेपालको जनसंख्या पछिल्लो समय प्रत्येक वर्ष बढिरहेको देखिन्छ । बाहिरी मुलुकबाट आउने विदेशी पाहुनाहरुको संख्या पनि बढिरहेको पाइन्छ । साथै विभिन्न जिल्लाहरुमा एयरर्पोटको संख्या पनि बढिरहेको पाइन्छ तर यता प्लेन र हेलिप्कटरको संख्या भने बढेको छैन । यिनीहरु पहिला जति थिए अहिले पनि उति नै छन् । अहिले सञ्चालनमा रहेका यी व्यवसायीहरुले आफु पनि जनतालाई सस्तोमा सेवा प्रदान गर्दैनन् र नयाँ व्यवसायी पनि आउन दिदैँन । यिनीहरु सिण्डिकेट लगाएर सरकार र जनतालाई दाधागिरी देखाएर आकाश कब्जा गरेर बसिरहेका छन् ।

राज्यलाई कर तिर्छु र अहिलेको भाडाभन्दा कममा यात्रुलाई सेवा दिन्छु भन्दा पनि यीनीहरु नयाँँ व्यवसायी आउन दिँदैनन् । प्लेनमा भएको सिण्डिकेट तथा एकाधिकार सरकारले नतोड्दा राज्यलाई पाि राजस्व आएको छैन, जनता पनि ठगिरहेका छन् र कम प्लेन हुने हुँदा जनताले समयमै टिकट पनि पाएका छैनन् । अब सरकारले प्लेनमा भएको सिण्डिकेट हटाएर नयाँ व्यवसायी आउन दिएमा जनताले भनेको समयमा नै टिकट पाउनुका साथसाथै सस्तोमा सेवा पाउने छन् । नेपालमा दुई प्रकारका मानिसहरु भेटिन्छन् । जसमा आम्दानीका स्रोत पर्याप्त भएका र शिक्षित मानिसहरु प्लेन चढ्ने गर्छन् भने आम्दानीका स्रोत कम भएका मानिसहरु भाडाका गाडीहरु चढ्ने गर्छन् । आम्दानीका स्रोत कम हुने मानिसहरु प्लेन भाडा महंगो हुने गर्दा कहिले पनि प्लेन चढ्दैनन् । यी व्यवसायीहरुले पनि सिण्डिकेट लगाएर सरकारले तोकेको भाडाभन्दा बढी भाडा लिएर ठगीरहेको छ । साथै यिनीहरुले बच्चा देखि बूढो मानिससम्मलाई भाडा छुट दिएका छैन र लक्जरीको पनि रकम लिइरहेका छन् ।

प्लेन तथा सार्वजनिक सवारीसाधनहरुमा स्वदेशीदेखि विदेशीसम्म चढ्ने गर्छन् । यी व्यवसायीहरुले जनतालाई ठग्दा वा जोखिमपूर्ण यात्रा गराउँदा पनि सरकार केही गर्न सक्दैन । सरकारलाई कर भए पुग्छ जनता चाहिँदैन । यता प्लेन तथा यातायात व्यवसायीहरु राज्यलाई हामीले कर तिरेको छौँ भन्छन् र आफ्नो मनोमानी गर्छन् । यातायात व्यवसायीहरुले दशैंभरिको बाटो आफ्नो कब्जा गरेका छन् भने प्लेन व्यवसायीहरुले नेपालभरको आकाश कब्जा गरेका छन् । सरकारले निर्धारण गरेको भाडादरमा अघिपछि त टिकट पाइँदैन भने दशैंको समयमा प्लेन र भाडाका गाडीको टिकट पाउनु भनेको त ठुलो युद्ध जितेर आएको जस्तो हुने गर्छ । दशैंको समयमा विभिन्न व्यापारीहरुले उपहार राखेर सामानहरु बिक्रीवितरण गर्ने गर्छन् तर यी व्यवसायीहरु भने दशैंको नै मौका छोपेर महँगो भाडा लिएर जनता ठग्ने गर्छन् । सरकारले यातायात तथा प्लेन व्यवसायी चलाउनुपर्नेमा सरकार नै यी व्यवसायीहरुले चलाएका छन् ।

सरकार व्यवसायीहरुको अगाडि निरीह बनिरहेको छ । यातायात तथा प्लेन व्यवसायीहरुले आफ्नो माग पुरा गर्न र भाडा बढाउन सरकारलाई नै गाल्ने र घुडा टेकाउने काम गर्ने गर्छन् । यी व्यवसायीहरुले राजनितिक पार्टीको सदस्य लिएर वा चन्दा दिएर जनता र राज्यलाई ठगीरहेका छन् । नेपालमा व्यवसायी गर्ने नाममा जति जनता ठगे पनि हुन्छ र जति राज्यलाई कर छले पनि हुन्छ भन्ने बेथिति पछिल्लो समय बढिरहेको पाइन्छ । सरकारले अनुगमन गरेर यस्ता कम्पनी, फर्म, प्लेन तथा गाडीहरुको दर्ता र रोड पर्मिट खारेज गर्नुपर्छ । यसो गर्दा उनीहरु सरकारको नीति तथा नियममा रहन्छन् र जनता र राज्य ठगिनबाट जोगिन्छन् । तर राज्यले यसप्रति एक्सन नलिँदा यस्ता कालोबजारीहरुको दिन बलियो हुदैँ गएको छ । यता मन्त्री, सचिव र महानिर्देशकलाई पैसा आइहाल्छ, सरकारी कर्मचारीलाई घुस भए पुगिहाल्छ, मर्ने त जनता नै हुन् ? यसरी जनताको पक्ष वा हितमा सरकारी कर्मचारी वा मन्त्रीले काम नगरी व्यापारी तथा व्यवसायीको पक्षमा काम गर्दा आज महंगीले सीमा नाघ्यो आर्थिक कमजोर हुने मानिस मर्दै गए र धनी झन्झन् धनी बन्दै गए ।

जनताले सबैभन्दा बढी लगानी प्लेन तथा यातायात व्यवसायमा गरेका छन् तर त्यहँी व्यवसायीले राज्यलाई कर छल्ने गर्छन् । दशैंको समयमा प्लेन तथा हेलिप्कटर दुर्घटनामा परेर कुनै पनि नेपाली नागरिक मर्न नपरोस् र सवारीसाधन भिरबाट खसेर पनि कुनै नागरिकले ज्यान गुमाउन नपरोस् । दशैं नजिकिँदै गर्दा अहिलेदेखि नै टिकट महंगोमा बेच्ने यातायात व्यवसायी तथा हवाई कम्पनीलाई सरकारले कारबाहीको दायरामा ल्याउनुपर्छ र जनतालाई सहज र सस्तोमा सेवा लिने वातावरण मिलाउनुपर्छ । बसपार्कमा होस् या एयरर्पोटमा नै होस् त्यहाँ शान्तिसुरक्षाको व्यवस्था पनि मिलाउनुपर्छ । बस तथा प्लेनको टिकट नपाएर घर जान नपाएको भन्ने कुरा सुन्न पनि नपाओस् र सबै नागरिकहरु आआफ्नो घर सुरक्षितसाथ जान पाऊन् । साथै घरबाट एयरर्पोट वा बसपार्क जानका लागि ट्याक्सी आवश्यक पर्दा ट्याक्सीले पनि सर्वसाधारणलाई ठग्ने गर्छ र अब सरकारले त्यसलाई पनि अनुगमन गरेर कारबाही गर्नुपर्छ ।

अहिले पनि ट्याक्सीले मिटरमा यात्रु बोक्न मान्दैन र यात्रुले भनेको ठाउँमा जान मान्दैन । साथै ट्याक्सीले मागेको जति पैसा यात्रुले दिएपछि मात्र यात्रु ट्याक्सीमा सवार गर्न पाउँछन् । अहिले मिटरमा यात्रु नबोक्ने ट्याक्सीहरुलाई ट्राफिकले अनुगमन गरेर कारबाही गरेको छैन । एयरर्पोटको हरियो प्लेटको ट्याक्सीले एयरर्पोटबाट नयाँ बानेश्वर आएको ३ हजार लिने गर्छ, तर सरकारले निर्धारण गरेको भाडा प्रति किलोमिटर ८५ रुपैयाँ छ । एयरर्पोटबाट नयाँ बानेश्वर जम्मा ५ किलोमिटर छ । साथै यता कालो प्लेटको ट्याक्सीले २०० को बाटोमा ५०० लिने गर्छ र ट्याक्सी चढ्नेबित्तिकै ५० रुपैयाँ आउने गर्छ र सरकारले तोकेको भाडारेट प्रत्येक किलोमिटर ५० रुपैयाँ छ । सरकार यातायात र प्लेन व्यवसायी मिलेर कतिन्जेल जनता ठग्ने ? अब यसलाई सरकारले समयमै नियन्त्रण गर्नुपर्छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार ०९:००