सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रियसभाको बैठक आज बस्दै, के छ कार्यसूची ?

राष्ट्रियसभाको बैठक आज बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश गर्ने तयारी छ ।

तर संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने समितिको प्रतिवेदन पेश गर्ने विषय राखिएको छैन । समितिका सभापति नारायणदत्त मिश्रले सकभर आजकै बैठकमा प्रतिवेदन पेश गर्ने व्यवस्था मिलाउन आफूले आग्रह गरिरहेको बताए ।

राष्ट्रपतिले सन्देससहित फिर्ता पठाएको विधेयक प्रतिनिधिसभाले विना संशोधन पारित गर्दै राष्ट्रियसभामा पठाएको थियो । राष्ट्रियसभाले छलफलका लागि समितिमा पठाए पनि समितिको हिजो बसेको बैठकले विधेयक जस्ताको तस्तै बहुमतबाट पास गरेको थियो ।

समितिमा रहेका एमालेका तीनसहित पाँच सदस्यले फरक मत राखेका छन् । संसद सचिवालयका अनुसार आजको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिका सदस्य देवेन्द्र दाहालले समितिको वार्षिक प्रतिवेदन २०७६ र एकीकृत प्रतिवेदन २०७९ पेश गर्ने छन् ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक, २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ लाई विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको छ ।

बैठकमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पेश हुने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार ०८:२३