सूचनाको शक्ति - The Power Of Information

        

रोल्पामा श्रीमान्–श्रीमतीको विभत्स हत्या

रोल्पामा श्रीमान्–श्रीमतीको शव फेला परेको छ । धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी विनोद घिमिरेले जानकारी दिए ।

माडी गाउँपालिका–३ तालावाङमा श्रीमान्–श्रीमतीको शव विभत्स अवस्थामा फेला परेको हो । रोल्पा परिवर्तन गाउँपालिका–२, राङसी घर भएका दुर्गाबहादुर पुन र उनकी श्रीमती पार्वती मृत अवस्थामा भेटिएको डिएसपी घिमिरेले बताए ।

उनीहरुले यसअघि काठमाडौँ इटाभट्टामा काम गरेका थिए । बिहे गरेर रोल्पा आएपछि तालावाङस्थित जयलाल डाँगीको घरमा मजदूरी गर्दै आएका थिए । घटनाको अनुसन्धानका लागि कोहरपुरबाट तालिम प्राप्त कुकुर बोलाइएको प्रहरीले जनाएको छ ।

घटनाको खबर पाएसँगै घर्तीगाउँ ईलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक देवराज भट्टराईको टोली र रोल्पा प्रहरी प्रमुख विनोद घिमिरेको टोली घटनास्थल पुगेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु भएको बताएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार ०७:५४