सूचनाको शक्ति - The Power Of Information

        

नेपाली खानामा अलैँची प्रयोग गर्न ‘वाह अलैँची’ अभियान

नेपाली मौलिक खानामा अलैँचीको प्रयोग गर्न ‘वाह अलैँची’ अभियान आयोजना गरिएको छ ।

नेपालमा उत्पादन हुने अलैँचीमध्ये ९० प्रतिशतभन्दा बढी अलैँची विदेशमा निर्यात हुँदै गएपछि स्वदेशमा समेत अलैँचीको प्रयोग गर्न उक्त अभियान आयोजना गरिएको हो ।

नेपाल अलैँची व्यवसायी महासङ्घ, सेफ्स एसोसिएसन अफ नेपाल र ग्लोबल नेप्लिज सेफ्स फेडेरेशनको आयोजनामा आज २० भन्दा बढी नेपाली खानामा अलैँचीको प्रयोग गरिएको छ ।

मासुका विभिन्न परिकार, विभिन्न अचार र खीर लगायतमा अलैँचीको प्रयोग गरिएको हो । नेपालमा उत्पादित अलैँचीलाई नेपालमा नै प्रयोग बढाउनका लागि उक्त अभियान आयोजना गरिएको सेफ्स एसोसियसन अफ नेपालका अध्यक्ष श्याम लामाले जानकारी दिए ।

नेपालका सामान्य होटलदेखि पाँचतारे होटलसम्म यसको प्रयोग बढाउनुपर्ने उनको भनाइ थियो । विदेशबाट आयात हुने सुकुमेलभन्दा स्वदेशमा उत्पादन हुने अलैँची प्रयोगलाई जोड दिनुपर्ने अध्यक्ष लामाले बताए ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)का पाक प्रशिक्षक मोहन गजुरेलले सीटीईभीटीले नेपाली खानाको पाठ्यक्रम नै तयार गरेर अगाडि बढाएको बताए । होमस्टे व्यवस्थापनको पाठ्यक्रमसमेत सीटीइभीटीले निर्माण गरेको उनको भनाइ छ ।

वरिष्ठ सेफ शीतल खनालले नेपाली खानाको प्रवर्द्धनमा नेपाली सेफहरुले काम गर्दै आइरहेको बताए । स्वदेशमा उत्पादित अलैँचीलाई स्वदेशमै प्रयोग गर्न यो अभियानले सहयोग पुग्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार ०७:४८