सूचनाको शक्ति - The Power Of Information

        

आजको मौसम

बबई नदीको बहाव बढ्दो क्रममा, बर्दियामा उच्च सतर्कता

सातै प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ भने पाँच वटामा भारी वर्षाको सम्भावना रहेको छ ।

फाइल तस्वीर

देशका विभिन्न ठाउँमा आज बिहानैदेखि वर्षा भइरहेको छ । कतिपय भू–भागमा गएरातिदेखि नै पानी परिरहेको छ । बबई नदी जलाधारको चेपाङ, धनवास र आसपास पछिल्लो तीन घण्टादेखि भारी वर्षा भइरहेको छ ।

बबई नदी चेपाङमा आकस्मिक बहाव भई जलसतह सतर्कता तह आसपास पुगेको छ । र, बहाव बढ्दो क्रमका रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बबई तटीय क्षेत्र र बर्दियाको डुवान भइरहने होचा स्थानमा बिहान १० बजेसम्म सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

बाराको निजगढ र आसपासको क्षेत्रमा पछिल्लो पनि भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने स–साना नदीहरूमा आकस्मिक बहाव हुनसक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहनेले उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

सप्तरीको बरमझिया र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने स–साना नदीहरूमा आकस्मिक बहाव हुनसक्ने हुनाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहनेले उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

गोरखाको बारपाक र आसपासको क्षेत्रमा पनि भारी वर्षा भएको छ । दरौंदी नदी र अन्य स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने तथा कमजोर भिरालो जमिनमा पहिरो जानसक्ने भएकाले तटीय क्षेत्रमा हुनेहरूले बिहानसम्म उच्च सतर्कता अपनाउनु पर्नेमा महाशाखाको जोड छ ।

आज दिउँसो मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । प्रदेश–१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा आज राति भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सातै प्रदेशमा बिहानैदेखि वर्षा

देशका विभिन्न ठाउँमा आज बिहान वर्षा भइरहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । कर्णाली प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रदेश–१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार ०६:५०