सूचनाको शक्ति - The Power Of Information

        

भारतीय स्थल सेनाध्यक्ष पांडे नेपाल आउँदै

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे यही भदौ १९ गते नेपाल आउने भएका छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी भदौ १९ गते पाँच सदस्यीय भ्रमण दलका साथ नेपाल आउन लागेको नेपाली सेनाले जनाएको छ ।

भदौ १९ देखि २३ गते (सेप्टेम्बर ४ देखि ८ तारिख)सम्म हुने पाँचदिवसीय भ्रमणका अवसरमा जनरल पांडेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गर्ने सैनिक जनसम्र्पक तथा सूचना निर्देशालयले जनाएको छ ।

यसैगरी, उनले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान हुने विविध सामग्रीको हस्तान्तरण कार्यक्रमलगायत कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया र मध्य कमान्ड हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको मुख्य अंशका रूपमा रहेको नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल पांडेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछिन् । जनरल पांडेले भ्रमणको दौरान प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार १६:०९