कालिकोटको स्थानीय तहले खरिद गरेका सरकारी सवारी साधन व्यक्तिगत प्रयोगमा रहेको पाइएको छ ।
पलाँता गाउँपालिकाले खरिद गरेको मोटरसाइकल व्यापारीको समान ढुवानीमा प्रयोग भएको स्थानीयको भनाइ छ । पलाँताको घाटाचौरदेखि सामानका बोरा ढुवानी गरिरहेको क.प्र ०२–००१ ब ०५२३ नम्बरको मोटरसाइकल व्यापारीको सामान बोकेको भेटिएको छ ।
स्थानीय नमराज न्यौपानेका अनुसार प्राय पलाँता गाउँपालिकाले खरिद गरेका मोटरसाइकल र गाडी व्यक्तिगत रूपमा प्रयोग हुँदै आएको छ । ‘हामीले भनेको कसैले सुन्दैन । सरकारी गाडी कता के कामका लागि प्रयोग भएका छन्, थाहा छैन,’ न्यौपानेले भने, ‘मोटरसाइकल व्यापारीले प्रयोग गरिरहेका छन्, बिग्रेको बेला गाउँपालिकामा खबर हुन्छ र बनाउने गरिन्छ ।’
पालिकाका अध्यक्षका छोरादेखि आफन्तले सरकारी गाडी प्रयोग गर्ने गरेको स्थानीयको भनाइ छ । सरकारी मोटरसाइकल दुरुपयोग भए नभएको बारेमा ट्राफिक प्रहरीले पनि निगरानी राख्नुपर्ने स्थानीयको सुझाव छ । रास्कोट नगरपालिकामा कार्यरत एक कर्मचारीका अनुसार आफूले कामका लागि मोटरसाइकल माग्दा मोटरसाइकल कार्यालयमा भेटिएन ।
‘केही भनौँ भने भएको जागिर जाने डर हुन्छ, त्यो भन्दा चुप बस्यो आनन्द,’ उनले भने । पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकायाले चार गाडीमध्ये दुई गाडी हालै मर्मत गरेर सञ्चालनमा ल्याइएको बताए । मोटरसाइकल खोजिइरहेको उनले बताए ।
सत्यपाटी । कालीकोट ।