मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार ६८५ महिलासहित सात हजार ७९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् ।
नेपालको खेलकुदको इतिहासमा पोखरामा चार दशकपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । यसअघि २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा ‘दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना गरिएको थियो ।
प्रतियोगिता आयोजक कार्यकारिणी समितिका सदस्यसचिव फणिन्द्र पौडेलका अनुसार प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । प्रत्येक टोलीबाट कम्तीमा ३३५ महिला र ३७४ पुरुष खेलाडीको सहभागिता रहनेछ ।
३६ खेल खेलाइने
नवौँ राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, टेनिस, एथलेक्टिस, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबलटेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोखो, कराँते, जिम्न्याष्टिक, पौडी र कबड्डी खेल समावेश गरिएको छ ।
यस्तै हयाण्डबल, जुडो, कुस्ती, फुटबल, कराते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाताक्रोे, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङ पनि प्रतियोगितामा समेटिएका छन् ।
प्रतियोगितामा धेरैभन्दा धेरै खेलाडीबीच प्रतिस्पर्धा होस् भन्ने उद्देश्यले खेलाडी तयार गर्न प्रत्येक प्रदेशलाई रु.४९ लाखका दरले रकम उपलब्ध गराएको युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले जानकारी दिए । मन्त्रालयका अनुसार प्रतियोगिता भव्य र सभ्यरूपमा सम्पन्न गर्न गण्डकी प्रदेश सरकारले हरतवरले सहयोग पुर्याउने ऐक्यबद्धतासहित प्रतिबद्धता जनाइसकेको छ ।
प्रतियोगिताअन्तर्गत १८ विधाका खेल पोखरामा हुनेछन् भने केही खेल गण्डकी प्रदेश मातहतका अरु जिल्लामा सञ्चालन गरिनेछन् । खेलाडी, प्रशिक्षक, आयोजक समिति, निर्णायक मण्डलसहित करिब १२ हजार ५०० जना प्रत्यक्ष सहभागी हुने उक्त प्रतियोगिता खेल उत्सवका रूपमा रहने रेग्मी बताउँछन् ।
दश लाख रुपैयाँको ‘रनिङ ट्रफी’
राष्ट्रिय खेलकुद प्रतियोगितामा नयाँ सुरुआतका रूपमा यसपटकदेखि सुन र चाँदीजडित करिब १० लाख लागतमा तयार गरिने ‘रनिङ ट्रफी’को व्यवस्था गरिएको छ । तीनपटक लगातार प्रतियोगिता जित्ने टोलीलाई उक्त ट्रफी प्रदान गरिनेछ ।
विश्वका अन्य मुलुकमा पनि यस्तो अभ्यास रहेको सचिव रेग्मीले बताए । प्रतियोगिता अन्तर्गत व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक जित्नेलाई २५ हजार तथा सामूहिकतर्फका स्वर्ण पदकधारीलाई रु १५ हजार नगद पुरस्कार प्रदान गरिने सचिव रेग्मी बताउँछन् ।
साठी करोड खर्च हुने अनुमान
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ३९३ स्वर्ण, ३९३ रजत र ६०० कास्य पदक यसअघि नै तय भइसकेको छ । प्रतियोगिताका सिलसिलामा ४०८ प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताका लागि लोगो, मस्कट र नारा छनोट भइसकेको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब रु ६० करोड बजेटको सुनिश्चिता भएको छ । प्रतियोगिता सञ्चालनका लागि आवश्यक पर्ने निर्देशिका स्वीकृत, मूल आयोजक समिति र अरु १३ विषयगत उपसमिति गठन तथा कार्यकारी समितिको सचिवालय स्थापनाको काम यसअघि नै सम्पन्न भइसकेको सचिव रेग्मीले बताए ।
प्रतियोगिताका सन्दर्भमा खेलसामग्री, पोशाक, किट ब्याग लगायत खरिदका लागि लागत अनुमान कमिटी गठनमात्र होइन, खरिदका लागि बोलपत्र आह्वान पनि भइसकेको छ । प्रचार–प्रसारको काम पनि यसअघि नै प्रारम्भ गरिसकिएको छ ।
अहिले खेलस्थलको अनुमगन र निरीक्षण गरी अन्तिम टुङ्गो लगाउने कार्य भइरहेको छ । राष्ट्रिय ट्रफी, विजेता ट्रफी र मेडलको नमूना तयार गरी खरिद प्रक्रियासमेत अघि बढिसकेको आयोजक समितिले जानकारी दिएको छ ।
नेपालको साहसिक खेलका रूपमा ठूलो सम्भावना बोकेको क्यानोइङ तथा नेपालको परम्परागत छेलोलाई प्रदर्शनी खेलका रूपमा राखिएको छ । ‘स्वास्थ्यका लागि खेल’ भन्ने नारालाई सार्थकता प्रदान गर्न यस्ता राष्ट्रिय प्रतियोगिताले थप हौसला प्रदान गर्ने सचिव रेग्मी बताउँछन् ।
निजी क्षेत्रका तर्फबाट पनि प्रतियोगितामा योगदान होस् भन्ने उद्देश्यले प्रायोजकका रूपमा उनीहरूलाई समावेश गर्ने तयारी भइरहेको युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले बताए । उनले भने, ‘पोखरामा प्रतियोगिता आयोजना गर्ने सन्दर्भमा प्रदेश सरकार र स्थानीय सरकार अत्यन्तै उत्साहित छन् । बजेटको सुनिश्चिता भइसकेको छ ।’
सहभागिता, समन्वय र सहजीकरण गर्न आह्वान
प्रतियोगितालाई सफल तुल्याउने सिलसिलामा सहभागिता, समन्वय र सहजीकरणका लागि आयोजक समितिले सातै प्रदेश सरकारलाई पत्रचार गरिसकेको छ ।
सातै प्रदेशका मुख्यमन्त्री, खेलकुद मन्त्रालका पदाधिकारी र प्रमुख सचिवलाई भेटेर अधिकभन्दा अधिक खेलाडी सहभागी गराई खेल क्षेत्रको प्रतिस्पर्धाको स्तरवृद्धिमा सहयोग पुर्याउन अनुरोध गरिने सचिव रेग्मीले बताए ।
प्रतियोगिता अन्तर्गत अधिकांश खेलमा महिला र पुरुषको समान सहभागिता रहनेछ । विगतमा सङ्घीय संरचनाको ढाँचामा हुँदै आएको राष्ट्रिय खेलकुद प्रतियोगिता यसपटक भने प्रादेशिक संरचनामा पहिलोपटक हुन लागेको सचिव रेग्मीले बताए । यसपटक गण्डकी प्रदेश खेलकुद परिषद्लाई सहआयोजकका रूपमा अघि सारिएको छ ।
सातै प्रदेशका खेलकुदमन्त्री रहने गरी समन्वय समिति गठन गरिएको छ । कोरोना सङ्क्रमण, पर्यटक आगमनको याम (सिजन) तथा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखैमा प्रतियोगिता हुन लागेकाले खेलाडी व्यवस्थापनलगायतमा केही चुनौती आउनसक्ने पूर्वानुमान गरी पर्याप्त होसियारी अपनाइएको आयोजक समितिले जनाएको छ ।
राष्ट्रिय खेलकुद प्रतियोगिताको इतिहास
पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता २०३८ भदौ २७ देखि असोज ४ गतेसम्म काठमाडौँमा भएको थियो । उक्त प्रतियोगितामा बागमती अञ्चल विजयी भएको थियो । उक्त प्रतियोगितामा २२३ महिलासहित एक हजार ४४३ खेलाडीले १६ खेलमा २२६ पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।
विसं २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा आयोजना भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा १९ खेल विधामा ३७० पदकका लागि ५३९ महिलासहित दुई हजार ५७ खेलाडीबीच प्रतिस्पर्धा भएको थियो ।
विसं २०४२ फागुन २३ देखि चैत १ गतेसम्म वीरगञ्जमा भएको तेस्रो राष्ट्रिय खेलकुदमा ७३८ महिलासहित दुई हजार ७७५ खेलाडी २१ खेल विधामार्फत तीन सय ७० पदका लागि प्रतिस्पर्धा गरेको इतिहास छ ।
बाँकेको नेपालगन्जमा २०५५ चैत ८ देखि १४ गतेसम्म पाँच विकास क्षेत्र, नेपाली सेना र नेपाल प्रहरीको टोलीले १२ खेल विधामार्फत ४६९ पदकका लागि प्रतिस्पर्धा गरेकामा मध्यमाञ्चल विजयी भएको थियो ।
उक्त चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा एक हजार ६६२ खेलाडीबीच पदकका लागि भिडन्त भएको थियो । काठमाडौँमा २०६५ चैत २४ देखि ३० गतेसम्म भएको पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र तत्कालिन जनमुक्ति सेनाबीच प्रतिस्पर्धा भएकामा मध्यमाञ्चल विजयी भएको थियो ।
प्रतियोगितामा ६४६ पदक र १३ खेल विधा कायम गरिएको थियो । यस्तै सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र डडेल्धुरामा २०६८ चैत २४ देखि २८ गतेसम्म भएको छैटौँ राष्ट्रिय प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाली सेना, एपिएफ, त्रिभुवन विश्वविद्यालय र तत्कालिन जनमुक्ति सेनाका एक हजार ३९४ महिलासहित तीन हजार ६२८ खेलाडीबीच प्रतिस्पर्धा भएको थियो ।
उक्त प्रतियोगितामा मध्यमाञ्चल विजयी भयो । प्रतियोगितामा ३६ खेल विधा र एक हजार तीन सय ८६ पदक कायम गरिएको युवा तथा खेलकुद मन्त्रालयको तथ्याङ्ककमा उल्लेख छ । यसैगरी पूर्वाञ्चल विकास क्षेत्रको झापा, मोरङ, सुनसरीलगायत जिल्लामा २०७३ पुस ८ देखि १५ गतेसम्म भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३१ खेल विधाका लागि ९०२ पदक कायम गरिएको थियो ।
प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टिमका एक हजार ६६९ महिलासहित तीन हजार ९७२ खेलाडीबीच प्रतिस्पर्धा भएको हो । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ वैशाख ५ देखि ११ गतेसम्म बाँके, बर्दिया, दाङ लगायत जिल्लामा सम्पन्न भएको थियो ।
उक्त प्रतियोगितामा दुई हजार ४०९ महिला खेलाडीसहित पाँच हजार ३०५ खेलाडीले ३५ खेल विधामार्फत एक हजार १५८ पदकका लागि प्रतिस्पर्धा गरेका थिए । घुम्न अत्यन्तै अनुकूल मौसम र वातावरणमा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धन गर्न थप योगदान पुर्याउने विश्वास गरिएको छ ।
रासस । काठमाडौं ।