सूचनाको शक्ति - The Power Of Information

        

प्राविधिक काम नसकिँदा कक्षा १२ को नतिजा स्थगीत

फाइल तस्वीर

कक्षा १२ को बोर्ड परीक्षाको नतिजा आज (मंगलबार) सार्वजनिक नहुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बेलुकासम्म नतिजा सार्वजनिक गर्नेगरी तयारी गरेको थियो । तर, प्राविधिक काम नै नसकिएकाले नतिजा प्रकाशन गर्न नसकिने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

‘दिनभर लगाएर पनि टेक्निकल प्रोसेस सकिएन । अझै केही समय लाग्छ । त्यसपछि पनि प्रोसेसिङ हुन मात्रै तीन–चार घण्टा लाग्छ । आज समय अभावले नतिजा प्रकाशन गर्न नसकिने भयो,’ अध्यक्ष शर्माले भने ।

सम्भवतः भोलि बुधबार नतिजा प्रकाशन गर्न सकिने अध्यक्ष शर्माले बताए । ‘भोलि कति बेला टेक्निकल काम सकिन्छ । त्यसपछि सम्भवतः भोलि सार्वजनिक गर्छौ होला । अहिले नै यहि मितिमा सार्वजनिक गर्छौ भनेर भन्न सकिने अवस्था छैन,’ अध्यक्ष शर्माले भने ।

बोर्डले आज नतिजा प्रकाशन गर्ने तयारी गरेको थियो । त्यसका लागि साढे ३ बजे बोर्ड बैठक समेत बोलाएको थियो । तर, प्राविधिक प्रक्रिया नै नसकिएकाले आजलाई रोकिएको हो । बोर्डले आजै मोबाइलबाट नतिजा हेर्न सकिने भनेर सूचना प्रकाशन गरेको थियो ।

बोर्डले https://neb.ntc.net.np/ मा गएर नतिजा हेर्न सकिने भनेर सूचना प्रकाशन गरेको थियो । त्यस्तै आईभीआर सिस्टम अन्तर्गत लेण्डलाइन र मोबाइलबाट १६०१ डायल गरेर नतिजा हेर्न सकिनेछ । भने १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार १७:११