सूचनाको शक्ति - The Power Of Information

        

अपराध डायरी

चाडपर्वमा छैन सुरक्षाको अनुभुति

सुरक्षाकर्मीले पनि नागरिकले तिरेको करबाट तलबभत्ता खाने तर काम केही नगर्ने । दिन कटाउने माना पचाउने काम भइरहेको छ ।

मुलुकमा यतिबेला चाडपर्वको सिजन शुरु भएको छ । साउन लागेसँगै धमाधम चाडपर्व आउँछ । अरु बेलाभन्दा चाडपर्वमा अत्यन्तै धेरै किनमेल गर्नुपर्ने हुन्छ । साथै, चाडपर्व मनाउनका लागि आफन्तको घर जाने क्रम पुरानो हो । तर, यसरी घरबाहिर निस्किँदा चोरीको घटना घट्ने सम्भावना निम्तिन्छ । घरमा कोही नभएको मौका छोपेर चोरी हुन सक्छ । चाडपर्वको सिजन शुरु भएसँगै चोरीका घटना पनि ह्वात्तै बढ्छ । आफू घरबाहिर हुँदा मेरो घर सुरक्षित छ भनेर हिँड्न सक्ने अवस्था छैन । रातको समयमा ढुक्क भएर सुत्न सकिँदैन ।

सरकारले नागरिकलाई सुरक्षाको अनुभुति गराउन सकेको छैन । गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो ठाउँबाट पहल नगर्दा नागरिक अझै पनि असुरक्षित छन् । उनीहरुको घर असुरक्षित छ । सबैभन्दा धेरै चोरीको घटना दशैँमा घट्छ । तर, दशैँ लाग्न नपाउँदैै चोरी भएको भनेर सुन्नमा आइरहेको छ । अहिले नै यस्तो छ भने दशैँमा के होला ? दशैँमा त झन् प्रायजसोको घर रित्तो हुन्छ । कोठामा चाबी लगाएर हिँड्ने प्रवृत्ति छ । बजारमा चोर पनि छ्याप्छ्याप्ती हुन्छन् । चोरहरु अहिलेदेखि नै सल्बलाउन थालिसकेका छन् । किनमेल गर्ने क्रममा केही पत्तो नै नपाइकन पाकेटमारले पाकेट खाली पारिसकेको हुन्छ ।

सार्वजनिक यातायात, टिकट काउण्टर, व्यापारिक मललगायत भीडभाड हुने स्थानमा चोरको बिगबिगी हुन्छ । त्यसैले आफ्नो सामान जोगाउन नागरिक पनि सतर्क रहनुपर्छ । चोरी हुनबाट रोक्नका लागि आफू पनि जिम्मेवार बन्नुपर्छ । पहिले आफ्नो थैलीको मुख बलियो बनाउनुपर्यो कि चोरले चोर्न नसकोस् । घरबाट कतै बाहिर निस्किनुपरेमा राम्रोसँग झयाल ढोका बन्द गर्ने गर्नुपर्छ । छिमेकीलाई खबर गर्ने लगायतका काम गरेमा पनि चोरीका घटनाहरुमा धेरै कमी आउन सक्छ । मठमन्दिर, बजार लगायत अन्य स्थानमा जाँदा टन्न गरगहना लगाएर प्रचार गर्ने काम पनि बन्द गर्नुपर्छ ।

गरगहना चोरी मात्र होइन, आफ्नो ज्यानसमेत खतरामा पर्न सक्छ । देखाउनका लागि आफूमाथि खतरा आउने काम कसैले पनि नगरौँ । नागरिक पनि सरकारको मात्र सुरक्षामा भर पर्नुहुन्न । सरकारको भर पर्दा केही पनि बाँकी रहदैन् । आफू अलिकति जिम्मेवार बनिदिने हो भने चोरीका घटना न्यूनीकरण हुन सक्छ । नागरिकले कसरी निस्फिक्री चाडपर्व मनाउन सक्छन् भनेर विषयमा गृह मन्त्रालयले अहिलेसम्म छलफलमा बोलाएका छैनन् । सुरक्षाकर्मी र प्रमुख जिल्ला अधिकारीहरुलाई बैठकमा बोलाएर छलफल गर्नेतर्फ गृहमन्त्री खाँणलाई कुनै चासो छैन ।

चाडपर्वमा रमाइलोका लागि मदिरा सेवन गर्ने पनि बढ्छन् । समाज र टोलटोलमा झै–झगडाका घटनाले पनि निकै ठाउँ पाउँछ । दिनभर जुवातास खेलेर पैसा उडाउने पनि चाडपर्वमा उत्तिकै हुन्छ । घरभित्रै दङ्गा शुरु हुन्छ । एउटाले गर्दा पुरै समाजमा खैलाबैला हुन्छ । कुटाकुट गर्दा कतिपयको ज्यानसमेत जान सक्छ । त्यसैले गृह मन्त्रालयले बेलैमा ध्यान पुर्याउनुपर्छ । घटना घट्नुअघि नै सचेत हुनु राम्रो हुन्छ । अब बजारमा कालोबजारीले गर्नेहरु पनि ह्वात्तै बढछन् । एक सय रुपैयाँ पर्ने सामान तीन सय रुपैयाँ हालेर किन्नुपर्ने बाध्यता जाइलाग्छ ।

टिकट काउण्टरहरुमा पनि बिचौलिया सल्बलाउँछन् । टिकटमा पनि कालोबजारी हुन्छ । दोब्बर मूल्यमा टिकट किन्नुपर्ने बाध्यता आइपर्छ । बजारमा अनुगमन बढाऊ भनेर गृह मन्त्रालयले हरेक जिल्लाका सिडियोलाई अहिलेसम्म पनि निर्देशन दिएको छैन । यता, सुरक्षाको दायरा बढाउनका लागि सुरक्षाकर्मीलाई पनि खटाइएको छैन । महंगीका कारण नागरिकको चुलो बाल्न नसक्ने अवस्था बनिसकेको छ । यातायात व्यवसायीले पनि दोब्बर भाडा लिएर नागरिक ठगिरहेका छन् । सवारी साधन दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या पनि दिनहुँ उकालो लागिरहेको छ ।

तापनि, सरकारलाई अलिकति पनि मतलब छैन । प्रदेश सरकार त नाममात्रको सरकार भइहाल्यो । सिडियो र प्रदेश सरकार नै व्यापारीसँग मिलेको देखिन्छ । बजार अनुगमन गर्नलाई न गृह मन्त्री खाँण तात्छन् न सिडियो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु हात बाँधेर बसेका छन् । विगतको तथ्याकँ हेर्ने हो भने सबैभन्दा धेरै सवारी साधन दुर्घटनामा दशैँमा पर्छ । अरु बेलाभन्दा दशैँमा धेरै दुर्घटना हुनु पछाडि धेरै कारण छ । न चेकिङ्ग कडा छ न बाटोघाटो राम्रो । सिटभन्दा बढी यात्रु हाल्नु यातायात व्यवसायीको त विगतदेखि चलि आएको चलन नै भइहाल्यो ।

सरकारको कमीकमजोरीका कारणले वर्षेनि थुप्रो नागरिकको ज्यान जान्छ । ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी पनि आफ्नो ठाउँबाट जिम्मेवार बनिदिनुपर्यो । उनले सम्पूर्ण ट्राफिकलाई चेकिङ्ग बढाउनका लागि निर्देशन दिनुपर्छ । सार्वजनिक यातायातमा अझै कडाइका साथ अनुगमन हुनुपर्छ । दशैँ लागेसँगै घर जानेको सँख्या बढेको छ । तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले गाडीको छत निकाल्नुपर्छ भनेर निर्णय गर्न सकेका छैनन् । यता, यातायात व्यवस्था विभागका महानिर्देशक सुरेश राउतको पनि यतातिर ध्यान गएको छैन । दशैँको मौका छोपेर यातायात व्यवसायीले छतभरि सामान हाल्छन् ।

बाटोमा प्रहरी नभएपछि उनीहरु छतमै समेत यात्रु बोकेर हिँड्छन् । चाडपर्व लागिसके पनि कसरी अघि बढ्ने ? भनेर अनुगमन गर्नका लागि कुनै पनि निकायले योजना तयार पारेको छैन् । सरकारले पनि नागरिकलाई सचेत बनाउनुपर्छ । सरकारले विभिन्न माध्यमबाट जनचेतनाका कार्यक्रम ल्याउन सक्छ । तर, गृहमन्त्री खाँणसँग यति गर्ने पनि क्षमता छैन । अरु देशमा सवारी साधन दुर्घटना परेर कसैको ज्यान गयो भने सरकार जिम्मेवार बन्छ । अन्य देशमा सरकारले आफ्ना नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेको हुन्छ । तर, नेपालमा ठ्याक्कै त्यसको उल्टो छ ।

यहाँ बर्षेनि दुर्घटनामा परेका हजारौँले ज्यान गुमाउँदा पनि सरकार जिम्मेवार बन्दैन । न सम्बन्धित व्यक्तिले आफ्नो गल्ती स्वीकार्दै राजीनामा दिन्छन् । दशैँ आउन अब एक महिना पनि बाँकी छैन । बजारमा किनमेल गर्नेको चहलपहल छ । घर जानेको भीड पनि बढेको छ । बैंकबाट पैसा निकाल्नेको संख्या पनि बढेको देख्न सकिन्छ । तर, कुनै पनि क्षेत्रमा व्यवस्थित सुरक्षा संयन्त्र खडा गरिएको छैन । गृहमन्त्री खाणले यति पनि गर्न नसक्ने हो भने तत्कालै राजीनामा दिनुपर्यो । नत्र भए सुरक्षाकर्मी र सिडियोलाई बोलाएर बजारमा निगरानी राख्न निर्देशन दिनुपर्यो ।

सुरक्षाकर्मीले पनि नागरिकले तिरेको करबाट तलबभत्ता खाने तर काम केही नगर्ने । दिन कटाउने माना पचाउने काम भइरहेको छ । बजारमा के भइरहेको छ ? के चलिरहेको छ ? महंगीले नागरिकलाई कति मारमा पारेको छ ? कालोबजारी भइरहेको त छैन ? भनेर अनुगमन गर्नुपर्यो । नागरिकलाई सुरक्षा दिने र राष्ट्रलाई सेवा दिने भनेर सुरक्षाकर्मीहरुले जागिर खाएका हुन् । तर, नागरिकलाई उनीहरुले के सुरक्षा दिए त ? नागरिकले मुलुकमा सुरक्षाकर्मी छन् भनेर अनुभव गर्न सकेका छैनन् । देशको सीमाना भारत मिचेको मिच्यै गर्छ तर पनि सुरक्षाकर्मी मौन । सुरक्षाकर्मीको मुख्य काम भनेको नेताहरुको चाकडी गर्नु मात्र हो ।

एउटा नेताको पछाडि एक दर्जन सुरक्षाकर्मी खटिएका हुन्छन् । तर, नागरिकको सुरक्षा गर्ने कोही छैनन् । दशैँमा ट्राफिक जाम एकदमै धेरै हुन्छ । अहिले नै ट्राफिक जाम नागरिकका लागि टाउको दुःखाइको विषय बनेको छ । झन् दशैँमा त यसले उग्र रुप लिन्छ । अझै पनि सरकारले गर्छ भनेर सोच्नु नै गलत हो । अहिलेको सरकार असफल भयो भनेर पुष्टि भइसकेको छ । यो सरकारले नागरिकका लागि केही काम गर्न सक्दैन । आफू पनि राम्रो काम नगर्ने र अरुलाई पनि गर्न नदिने काम भइरहेको छ । एकअर्काको खुट्टा तान्नु नेपालमा वर्षौदेखि चलिआएको प्रवृत्ति हो ।

काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले बेसमेण्ट पार्किङ हटाउन थालेपछि नेपाली काँग्रेसका नेताहरुलाई भत्भती पोलेको छ । काँग्रेसका नेता मीनबहादुर विश्वकर्माले उनको प्रगति देख्न सकेनन् । बालेनको खुङ्खाँर विरोध गरिरहेका छन् । तर, बालेनले नराम्रो कामचाहिँ के गर्यो ? काठमाडौँका नागरिकलाई ठिक लागेको छ भने अरुलाई केको चासो ? नेकपा एमाले र काँग्रेसले राम्रो काम गरेको भए स्वतन्त्र आउँदैनथ्यो । राम्रो काम गर्नेलाई प्रोत्साहनको साटो निरुत्साहन गरेपछि कसरी मुलुकको रुप फेरिएला ? अब बालेन जसरी काम गर्नुपर्यो, होइन भने प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री खाँणले राजीनामा दिनुपर्यो । महेश बस्नेत र मीनबहादुर विश्वकर्माको विरोधमा नागरिक सडकमा आउनुपर्छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार १५:३४