सूचनाको शक्ति - The Power Of Information

        

दलित बालबालिकामा कुपोषणको समस्या

सरकारी तथा गैरसरकारी संस्थाले मुगु जिल्लामा कुपोषण न्यूनीकरणका लागि अभियान सञ्चालन गर्दै आएका भए पनि न्यूनीकरण हुन सकेको छैन ।

मुगुमकार्मारोङ गाउँपालिकाको मुगुगाउँका अधिकांश दलित बालबालिका कुपोषित पाइएको जिल्ला अस्पताल मुगुको तथ्याङ्कमा उल्लेख छ । कर्णाली प्रदेशको विश्व खाद्य कार्यालयको सर्वेक्षण तथ्याङ्कअनुसार सो गाउँपालिका–२, मुगुगाउँका दलित बालबालिकामा कुपोषण बढेको पाइएको हो ।

सर्वेक्षणमा दलित समुदायका महिलाले तीन–चार जना बच्चा जन्माउने गरको र तीमध्ये अधिकांश कुपोषित रहेको पाइएको छ । सो गाउँमा लामा समुदायका ५०० घरधुरी र दलितका २१ घरधुरीको बसोबास छ । स्थानीय मिन्जु कामीले आफ्नो ७ महिने छोरालाई कुपोषण भएको बताइन् ।

उनको बच्चाको तौल कम छ । अनुहार मलिन छ । अरू बालबालिकाजस्तो राम्रोसँग बोल्न र शारीरिक रूपमा राम्रोसँग खेल्न नसक्ने उनले बताए । त्यसो त मिन्जुको आफ्नै अनुहारमा पनि कुनै चमक छैन । लामाको घरमा गई ज्यालादारी गरी आफू र बालबच्चाको पालनपोषण गर्नु उनको दैनिकी हो ।

उनले ६ सन्तान जन्माए पनि तीमध्ये दुई सन्तान खेर गएका छन् । उनका श्रीमान् पनि ज्यामी काम गर्छन् । दलित बस्तीका अधिकांश परिवारको आफ्नो जग्गा जमिन नभएकाले परिवार पाल्नका लागि बाह्रै महिना गाउँमा ज्याला मजदुरी गर्नुपर्ने अवस्था रहेको मिन्जुले बताइन् । यसैगरी १८ महिनाका उर्गिन सुनारको अवस्था पनि उस्तै छ ।

मुगु स्वास्थ्य चौकीका स्टाफ नर्स सोनाम लामाले यहाँका दलित समुदायका महिला र बालबालिका कुपोषित रहेको बताइन् । जनस्वास्थ्य अधिकृत रितिजा रावलका अनुसार सोरु गाउँपालिकामा २८ जना, खत्याड गाउँपालिकामा १८ जना, छायाँनाथ रारा नगरपालिकामा २६ र मुगुमकार्मारोङ गाउँपालिकामा तीन जना कुपोषित बालबालिका रहेका छन् ।

यता विश्व खाद्य कार्यक्रम र नेपाल सरकारको आर्थिक सहयोगमा र सप्रोस नेपालको प्राविधिक सहयोगमा पोषणसम्बन्धी जिल्लाभर कार्यक्रम सञ्चालन भएको छ । संस्थाले गर्भवती महिला, सुत्केरी आमा र छ महिनादेखि २३ महिना उमेर समूहका बालबालिकालाई स्वास्थ्य चौकीमा प्रत्येक महिनाको १ गतेका दिन तीन केजीको पौष्टिक आहार लिटो वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार १०:४१