सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेशसभाका पाँच वर्ष : ७२ विधेयक पारित

लुम्बिनी प्रदेशसभाका सदस्यले मुलुककै इतिहासमा पहिलो अभ्यास प्रदेशसभाको पाँच वर्षे कार्यकाल उपलब्धिमूलक रहेको जनाएका छन् ।

आगामी मङ्सिर ४ गतेलाई घोषित प्रदेश निर्वाचनको मिति घोषणा भएसँगै प्रदेशसभाको आयु अब चार महिनामात्रै बाँकी छ । लुम्बिनी प्रदेशसभाको पाँच वर्षे कार्यकालमा १० वटा अधिवेशन सम्पन्न भएका छन् ।

प्रदेशसभा स्थापनाको पाँचौँ वसन्तसम्म आइपुग्दा ८२ वटा विधेयक दर्ता भएकोमा ७२ वटा विधेयक पारित गरिसकेको छ । प्रदेश सरकारका लागि आवश्यक कुल १३९ वटा ऐन निर्माणको काम थाती रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको पहिलो अधिवेशन २०७४ साल माघ २१ गते बसेको थियो । पहिलो कार्यकालमै प्रदेशको नाम र राजधानीको टुङ्गो लागेकाले यो पाँचवर्षे कार्यकाल सफल रहेको दाबी प्रदेश सभा सदस्यहरूको छ ।

नेपालमा सङ्घीयता कार्यान्वयनसँगै प्रदेश स्थापना र अभ्यासको हिसाबले प्रदेशसभाको संरचना नै पहिलो भएकाले पाँच वर्षे कार्यकाल चुनौतीपूर्ण भए पनि सिकाइका हिसाबले धेरै उपलब्धिमूलक भएको सदस्यहरूको अनुभव छ ।

लुम्बिनी प्रदेशसभा सदस्य रमा अर्यालले आम प्रदेशवासी जनताको भावना र परिवर्तनको चाहनालाई आत्मसात् गर्दै समृद्ध प्रदेश निर्माण गर्नु नै आफूहरूको मूल उद्देश्य रहेको बताउँदै पाँच वर्षे कार्यकाल सफल भएको दाबी गरे ।

अर्का प्रदेशसभा सदस्य कृष्ण न्यौपानेले सङ्घीयता कार्यान्वयनमा आएसँगै यो पहिलो अभ्यास भएकाले आफूहरूका लागि प्रदेशसभाको पहिलो कार्यकाल अनुभव र अनुभूतिका हिसाबले संस्मरणयोग्य भएको बताए ।

प्रदेशसभा सदस्य अष्टभुजा पाठकले पाँच वर्षे कार्यकाल धेरै सफल हुन नसकेको टिप्पणी गरे । प्रदेश सभाका अर्का सदस्य तुलसीप्रसाद चौधरीले सङ्घीयता कार्यान्वयनका सवालमा प्रदेशसभाको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

लुम्बिनी प्रदेशसभा सदस्यहरूले सडक यातायात, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका भौतिक पूर्वाधार विकास र अन्य सामाजिक विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

प्रदेशसभाको कृषि, वन तथा वातावरण समितिका सभापति जल्पा भुसालले प्रदेशको कानुन निर्माण र विकास निर्माणमा प्रदेशसभाका सदस्यहरूले पाँच वर्षको अवधिमा प्रभावकारी भूमिका निर्वाह गरेको धारणा राखिन् ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार ०९:५५