सूचनाको शक्ति - The Power Of Information

        

पहिरोको जोखिममा जाजरकोट सदरमुकाम

भिरालो जमिनमाथि घरमाथि घर । त्यही भिरालो जमिनमा जबरजस्ती टाँसेर निर्माण गरिएका दुई वित्ते सडक निर्माण । सडकमा दुर्घटना पर्नेगरी पार्किङ गरिएका सवारी साधन । जाजरकोट सदरमुकाम भेरी नगरपालिका–४ शान्ति चौतारादेखि वडा नम्बर ३ को तल्लो थाप्लेसम्मको दृश्य हो यो ।

यही भूभाग भित्र जिल्लाका सबै सरकारी कार्यालय छन् । स्थानीय सरकारको रूपमा रहेको भेरी नगरपालिका जाने र आउने बाटो समेत यहीँ छ । जाजरकोट–डोल्पा खण्डको एक भाग (भेरी करिडोर) समेत यही सडक हो । राति पानी पर्न थालेपछि यहाँका बासिन्दाले ज्यान जोगाउनका लागि घर नै छाड्नुपर्ने बाध्यता छ ।

जिल्लाको पुरानो बजार क्षेत्र रहेको ठाँटीबजार नजिकै होटल तथा स्थानीयवासीले फोहोर पानी जथाभावी खसाल्दा जमिन भासिएको छ । यही ठाउँमा पटक पटक मर्मतका नाममा करोडौँ रकम खन्याए पनि जोखिम न्यूनीकरणको भरपर्दो काम अझै हुन सकेको छैन । सदरमुकामका अधिकांश ठाउँमा सामुदायिक तथा सरकारी जमिन समेत कब्जा गरेर घर टहरा निर्माण गरी अस्थायी बस्ती बसाउने कार्य तीव्र रूपमा बढेको छ ।

प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री सत्य पहाडीले केही दिनअघि प्रतिनिधिसभाको बैठकमा जाजरकोट सदरमुकाम पहिरोको जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गरेकी थिइन् । भेरी नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र रहेका विषयमा ध्यान नदिँदा सदरमुकामको हालत दयनीय बनेको छ ।

उद्योग वाणिज्य संघ, जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले सदरमुकामको भारवहन क्षमता भन्दा पनि बढी मानवीय क्रियाकलाप हुँदा अस्तित्व नै संकटमा परेको बताए । निजी स्तरबाट सञ्चालनमा रहेका बैंकका अगाडी सवारीसाधन पार्किङ गरी टिकट काट्ने स्थलका रूपमा निर्माण गरिएका छन् ।

भेरी नगरपालिकाले आँखै अगाडि बेथितिका चाङदेखि पनि नदेखेझै गरेर रमिते भएको भेरी– १ का बीरबहादुर बस्नेतले बताए । जिल्ला नापी कार्यालयले दिएको जानकारी अनुसार २१० वटा घरमात्र दर्ता भएको जमिनमा निर्माण गरिएका छन् । दलका जिल्लास्तरका नेताहरूले सरकारी तथा सामुदायिक वनको जग्गा मिचेर ठूलाठूला घर निर्माण भएको नापी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

राज्यले पटक पटक लगानी गरे पनि त्यो लगानी बालुवाको महल सावित भएको छ । मानवीय क्रियाकलाप सही नभएकाले पैसाको खोलो बगाए पनि सुधार नआउने इन्जिनियर सन्तोष शाहीले बताए । काम भयो भनेर सामाजिक सञ्जालमा प्रचार गर्ने तर काम नगर्ने नगरपालिकाको प्रवृत्ति रहेसम्म समस्या समाधान नहुने नागरिकको भनाइ छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार ०९:२६