सूचनाको शक्ति - The Power Of Information

        

बागचौरमा लिफ्ट प्रविधिबाट घरघरमै धारा

लाटीगार खोला किनारमा रहेको मुहानबाट एक गाग्री पानी ल्याउन आधा घण्टा भन्दा बढी समय खर्चिनुपर्थ्यो । हिउँदमा झनै सास्ती खेप्नुपर्थ्यो । अहिले बागचौर नगरपालिका २ की ५२ वर्षीया दीपा खत्रीको दैनन्दिन फेरिएको छ ।

घरमै धारा आउँदा उनी हर्षित छिन् । पानी ओसारेरै जीवन जाने भो भन्ने सोचेकी खत्रीलाई आफ्नै घरको आगनमा पानीको धारा आएपछि सुरुका केही दिन सपना जस्तै लागेको थियो । हिउँदको समयमा रातको १ बजेसम्म लाइनमा बसेकी उनलाई अहिले समयको बचत हुनुका साथै दुःखका दिन गएको अनुभुति भएको छ ।

‘गर्मीको समयमा त रातिको १ बजे पनि टर्च बालेर कुवामा पानी भर्न जानुपर्थ्यो । कति पटक त बाटोमा चिप्लेर लाइन लागि लागि भरेको पानीसँगै लडिन्थ्यो । त्यसबेला आफूलाई चोट लागेको पिर भन्दा पानी पोखिएकोमा बढी पिर लाग्थ्यो ।’ बागचौरकै ५८ वर्षीय चूडामणि खत्रीलाई पनि आफ्नै घरमा पानीको धारा आउँदा दंग परेकी छिन् ।

‘बागचौरमा सुरुमा २०४२ सालमा थारमारेबाट पानी ल्याए पनि २०५७ सालदेखि थारमारेमा नै पानी अपुग भएपछि काटियो । त्यसपछि २०५९ मा लाटिगार र कोटमौलाबाट पनि पानी ल्याउने काम भयो तर दिगो हुन सकेनन् ।’ खानेपानीका लागि मुहान, कुवा र धारामा जाँदा लाग्ने समयको बचत, सरसफाइमा सहयोग पुग्नुका साथै करेसाबारी समेत बनाउन थालेको खत्रीको भनाइ छ ।

‘आँगनमै मिटर जोडेको धारा बनाएपछि आवश्यक परेको समयमा सहजै पानी प्रयोग गर्न पाएका छौँ,’ उनले भने । पहिले सार्वजनिक धाराबाट पालो लगाएर पानी ल्याउनुपर्ने बाध्यता अन्त्य भएको रोजी बुढाथोकी भण्डारीको भनाइ छ । ‘पहिला टाढा पुगेर घण्टौँ पालो पर्खिएर पानी ल्याएर उपभोग गरेका थियौँ । व्यक्तिगत सरसफाइदेखि बस्तुभाउलाई खुवाउन गाह्रो थियो तर अहिले घर घरमा धारा आएपछि निकै सजिलो भएको छ ।’

बस्तीभन्दा झन्डै डेढ किलोमिटर तल जंगारखोलाबाट लिफ्ट प्रविधिबाट पानी तानेर बागचौर, थारमारे र लस्तम जिउलाका ३०० धरधुरीमा पानी वितरण गरिएको छ । सुरुमा १८० घरधुरीलक्षित योजना निर्माण गरिए पनि अहिले ३०० घरधुरी लाभान्वित भएको बागचौर लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष ज्ञानेश्वर केसीले बताइन् ।

खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालय सल्यानको श्रमदान सहित तीन करोड १६ लाख बजेटबाट योजना सम्पन्न भएको उहाँको भनाइ छ । वर्षौँदेखि खानेपानीको समस्यालाई भोग्दै आइरहेका तीन गाउँका स्थानीय लिफ्ट प्रविधिबाट पानी आएसँगै उक्त समस्याबाट मुक्ति पाएको केसीको भनाइ छ ।

‘एक घर एक धारा कार्यक्रम’ अन्तर्गत खानेपानीको समस्या भएका बस्तीहरूमा लिफ्ट प्रविधिबाट खानेपानीको व्यवस्था गर्दै आइरहेको खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालय सल्यानका प्रमुख पदमराज देवकोटाले बताए । जिल्लाका अधिकांश बस्ती डाँडामा भएकाले पनि पानीको सहज आपूर्तिका लागि समस्या भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार ०९:२४