सूचनाको शक्ति - The Power Of Information

        

युएस ओपन टेनिस अमेरिकामा सुरू

वर्षको अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता युएस ओपन अमेरिकामा सुरू भएको छ ।

न्युयोर्कमा सुरू भएको यो प्रतियोगितालाई किर्तीमानी खेलाडी सेरेना विलियम्सको अन्तिम प्रतियोगिताको रूपमा हेरिएको छ ।

आधुनिक टेनिसमा २३ ग्राण्डस्लाम जितेकी सेरेना सर्वाधिक उपाधि जित्ने दोस्रो सफल खेलाडी हुन् । उनीभन्दा बढी अष्ट्रेलियन खेलाडी मार्गरेट कोर्टले २४ ग्राण्डस्लाम उपाधि जितेकी छिन् ।

सेरेनालाई जारी युएस ओपनमा उक्त किर्तीमान बराबरी गर्ने अवसर मिलेको छ । तर वर्तमान फर्मलाई हेर्दा उनले त्यो किर्तीमान भेटाउने सम्भावना भने कमजोर छ ।

युएस ओपन टेनिसको पहिलो दिन सोमबार पुरुषतर्फ साविक विजेता रुसी खेलाडी ड्यानियल मेद्भेदेभ र ब्रिटेनका एण्डी मरे दोस्रो चरणमा पुगेका छन् ।

कोरोना खोप नलगाएका सर्वियन खेलाडी नोभाक जोकोभिचले भने यो प्रतियोगिता खेल्न पाएका छैनन् । त्यसैले २२ ग्राण्डस्लामको उापधि जितेका स्पेनिस खेलाडी राफायल नादाललाई यसपटक जोकोभिचसँगको उपाधि दुरी बढाउने अवसर मिलेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार ०९:०४